‘देशमा व्यवस्था र संरचना बदलिए पनि आदिवासी जनजाति समुदायका समस्या उस्तै’

‘देशमा व्यवस्था र संरचना बदलिए पनि आदिवासी जनजाति समुदायका समस्या उस्तै’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले देशमा व्यवस्था र संरचना बदलिए पनि आदिवासी, जनजाति, मधेसी र थारु समुदायको समस्या ज्यूँ का त्यूँ रहेको बताएका छन्।
 
‘कथित परिवर्तनको नाममा आदिवासी, जनजाति, मधेसी, थारु लगायतका अल्पसंख्यक समुदायलाई सत्ता प्राप्तिको साधन मात्र बनाइयो। सही मानेमा अल्पसंख्यकहरुको समावेशीकरण हुन सकेन, राज्य संरचनामा तिनको प्रतिनिधित्व र सहभागिताको प्रश्न ज्यूँ का त्यूँ रह्यो,’ पूर्वमन्त्री सुब्बाले मंगलबार भने।

नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘इतिहासमा इटहरी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ नेता सुब्बाले यस्तो धारणा प्रकट गरेका हुन्।

‘ऐतिहासिक रुपमा इटहरी थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो। यद्यपि थारु समुदायको ऐतिहासिक उपस्थितिका बाबजुद, शासक वर्गले थारु समुदायलाई हेर्ने दृष्टिकोण र सामाजिक अन्तरसम्बन्धमा तात्विक अन्तर आएको छैन,’ सुब्बाले भने।

‘यस किसिमको दूरी र दरार कायम रहेसम्म, सही अर्थमा देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुन सक्दैन। राष्ट्रिय एकता, राष्ट्रियता सबल हुन सक्दैन’ उनले भने।

राष्ट्रियताकै विषयमा गम्भीर भएर आफ्नो दल राप्रपाभित्र अन्तरसंघर्ष गर्नु परेको अवस्था स्मरण गरे। राष्ट्रहितलाई केन्द्रमा राखेर आफूलगायत राप्रपाका १३ जना सांसद नागरिकता विधयेकको विरुद्ध उभिएको घटनाक्रम पूर्वमन्त्री सुब्बाले सम्बोधनको क्रममा स्मरण गरे।

‘नागरिक विधयेकविरुद्धको उक्त कदम इतिहासको लेखाजोखामा छ,’ उनले भने ।

Logo