ओलीको निरंकुश र तानाशाही प्रवृत्तिविरूद्ध विद्रोह गरेका हौंः प्रचण्ड

ओलीको निरंकुश र तानाशाही प्रवृत्तिविरूद्ध विद्रोह गरेका हौंः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीभित्र देखिएकाे निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन्।

अध्यक्ष दाहालले ओलीको नाम नलिइकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृत्ति निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताएका हुन्। 

सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला हामीले पार्टीभित्रैको निरंकुश प्रवृत्तिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहोर्याए। 

अध्यक्ष दाहालले भने, ‘सम्पूर्ण उपलब्धिलाई धराशायी पार्ने एउटा प्रवृति देखा पर्यो । जसलाई हामीले प्रतिगामी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारी प्रवृत्ति भन्यौं। त्यो प्रवृत्ति कम्युनिष्ट पार्टीभित्रै देखा पर्यो। हाम्रो कोसिस थियो कि हामी कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई हावी गर्दै अरु शक्तिलाई पनि सच्याउने प्रक्रियाबाट जाने भन्ने थियो । तर त्यस्तो भएन । कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति जो देखा पर्यो। र हामीले त्यसका विरुद्ध संघर्ष गर्नु पर्यो। र हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महशुस गर्यौं। विद्रोह गर्नैपर्ने स्थिति देख्यौं। र हामीले विद्रोह गर्यौं।’

अध्यक्ष दाहालले आफैंभित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गरे। नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनु पर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उनको भनाइ थियो। 

Logo