राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएकाे होः नेता रायमाझी

राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएकाे होः नेता रायमाझी

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताएका छन्। 

बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यकता र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन् । नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताए। उनले राजनीतिक दलका ठूला नेताहरु पार्टी विभाजन सम्बन्धी विधेयकको मतियार बनेको आरोपसमेत लगाए।

नेता रायमाझीले नेपाली जनताको राजनीति गर्ने अधिकार नेपाली जनतामा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदहरुमा हुन्छ कि सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताए।

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले कम्युनिष्ट आन्दोलन संविधानको रक्षा गर्न र आफूलाई स्थापित गर्नका लागि एकतावद्ध हुनुपर्ने बताए। उनले सरकारको सबैभन्दा ठूलो चुनौती भनेको एमसीसी रहेको बताए। नेता पोखरेलले एमसीसीमार्फत् नेपाललाई युद्धभूमि बनाउने दीर्घकालीन सोचका साथ मिलिनियन च्यालेन्ज कर्पोरशेन (एमसीसी) सम्झौंता नेपालका लागि ठूलो चुनौती भएको बताए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले गणतन्त्र आएपछि सबैभन्दा धेरै फाइदा राजतन्त्रवादीहरुलाई भएको बताए। उनले दलाल पूँजीपति र सामन्तलाई मात्रै गणतन्त्रको फाइदा भएको बताए। नेता बास्तोलाले जनताले गणतन्त्र आएपछि पनि कुनै सेवा सुविधा नपाएको धारणा व्यक्त गरे। जनताका निम्ति हिजो भएका समस्याहरु आज पनि रहेको बताउँदै नेता बास्तोलाले कम्युनिष्टहरु एकतावद्ध भए राजतन्त्रको सर्वनाश गर्छ भन्ने डरले राजतन्त्रकै खिल्ली उडाइरहेको बताए।

नेता बास्तोलाले पुरानो प्रतिगामी सत्तालाई ध्वस्त पारेर नयाँ समाजमा रुपान्तरण गर्ने प्रकारको एकता कम्युनिष्ट पार्टीहरुबीच हुन जरुरी रहेको पनि बताए।

Logo