माधव नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने

माधव नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।

बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् बिस्तार हुने बताएका हुन्। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेता नेपाल र आफूबीच बिहीवार बिहानको भेटमा समझदारी बनिसकेको पनि उनले उल्लेख गरे। 

उनले भने,–‘नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधव नेपालजी र म बसेका पनि थियौँ। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैँन, तुरुन्तै टुंग्याउनु पर्छ भनेर । बिहान सबै पार्टीका नेताहरुको के समझदारी बनेको छ भने यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकैदिनमा मन्त्रिपरिषद् टुंग्याइदिनु पर्छ भन्ने कुरा भएको छ। जति छिटो उहाँको सनाखत हुन्छ । त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।’

उनले विगतमा केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन अध्यादेश ल्याएको भएपनि वर्तमान सरकारको अध्यादेश ल्याउनु उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु रहेको बताए। उनले भने,–‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ। यो दुईवटामा आकाश, जमिनको फरक छ भन्ने बुझ्न जरुरी छ।’

अन्तर्क्रियामा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याए। नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए। 

उनले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए।

Logo