माधव नेपालले एमाले समाजवादी गठन गर्नु पछाडिको अन्तर्य

माधव नेपालले एमाले समाजवादी गठन गर्नु पछाडिको अन्तर्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले आधिकारिक रूपमा बिहीबारदेखि विधिवत रूपमा विभाजन भएको छ। पार्टीको नवौं अधिवेशनबाट वरिष्ठ नेताको हैसियतमा रहेका माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) गठन गरी एमालेबाट अलग्गिएका छन्। कम्युनिस्ट राजनीतिमा करिब ५ दशक बिताएका नेपालले कहिले महासचिव त कहिले पार्टी अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।  

२०२८ सालको झापा विद्रोहपछि तत्कालीन राज्यसत्ताले केपी शर्मा ओलीलाई तारो बनाएको थियो। उनी सुरक्षित सेल्टर चाहन्थे। बैंकका जागिरे भए पनि नेपाल कम्युनिस्ट आन्दोलनका पूर्णकालीन कार्यकर्ता भइसकेका थिए।

आफ्नै जस्तो गन्तव्य भएका कामरेड (माधव नेपाल) विराटनगरमा जागिर खाँदैछन् भन्ने थाहा पाएपछि ओली नेपालकै डेरामा सेल्टर लिन पुगे। उनीहरूको पहिलो भेटघाट त्यहीँ नै थियो। यो २०२९ सालको कुरा हो।

एमालेभित्र शालीन, विधि र पद्धतिको व्याख्याकार, भद्र स्वभावका नेपाल आखिर नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिएका छन्। 

ओली र नेपालको सम्बन्ध पुरानो रहेको छ। ओली झापा आन्दोलनका विद्रोही र नेपाल चाहिँ विद्यार्थी आन्दोलन हुँदै कम्युनिस्ट राजनीतिमा आएका थिए। २०२९ सालमा एउटै  मोर्चामा रहेका उनीहरूले २०३२ सालमा गठित कोअर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रालाई अगाडि बढाएका थिए। 

माधव नेपाललाई गाह्रो पर्दा होस् वा ओलीलाई असहज अवस्था आएका बेला, एकअर्कालाई सहयोग गरेर अगाडि बढेका थिए। 

आफ्नै जस्तो गन्तव्य भएका कामरेड (माधव नेपाल) विराटनगरमा जागिर खाँदैछन् भन्ने थाहा पाएपछि ओली नेपालकै डेरामा सेल्टर लिन पुगे। उनीहरूको पहिलो भेटघाट त्यहीँ नै थियो। यो २०२९ सालको कुरा हो।

भूमिगतकालीन आन्दोलन, ओलीको जेल जीवन, माले र माक्र्सवादी मिलेर एमाले बनेको समयमा पनि ओली र नेपाल एकसाथ अगाडि बढेका थिए। एमालेको नौ महिने शासन, महाकाली सन्धि र २०५४ मा एमालेको विभाजन हुँदासम्म पनि ओली र नेपाल एउटै टिममा रहेका थिए।

पार्टी जीवनको हरेक उकाली–ओरालीमा सँगसँगै रहेका ओली र नेपालले राजनीतिक जीवनको उत्तराद्र्घमा आउँदा भने अलग गन्तव्यको गोरेटो कोरेका छन्।

त्यसो त नवौं महाधिवेशनबाट उनीहरूको सम्बन्ध एकाएक चिसिन पुग्यो। नवौं महाधिवेशनमा माधव नेपालको नीति तथा कार्यक्रम बहुमतले पारित भयो। तर, अध्यक्षमा भने ४५ मतले ओलीले नेतृत्व हात पारे।

सैद्धान्तिक प्रतिवेदनको प्रस्तावक घनश्याम भुसालले नेपाल समाज पुँजीवादी चरित्रको रहेको स्पष्ट पारेका छन्। भुसाल माधव समूहमा रहे पनि आखिर पार्टी विभाजनमा भने उनले साथ दिएनन्। 

‘अबको संघर्ष दलाल पुँजीवादविरुद्ध केन्द्रित रहनेछ। प्रत्येक नेता कार्यकर्ताहरू उत्पादनसँग जोडिनुपर्ने छ। राज्यलाई तिरेको कर गरिब निमुखा जनताको पक्षमा खर्च भयो, भएन भनी निगरानीको भूमिका निर्वाह गरिनेछ। राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादी क्रान्तिको आधार गरिने छ,’ नवौं महाधिवेशनमा पारित एमालेको सैद्घान्तिक दस्तावेजमा उल्लेख छ। अहिले नेकपा एमाले यही नीतिमा अगाडि हिँडिरहेको छ।

त्यहि अधिवेशनबाट उनीहरूको पाँच दशक लामो राजनीतिक सहयात्रामा अहिलेको लागि भने सकिएको छ।

राजनीतिलाई त्यसो त सम्भावनाको खेल भनिन्छ। भोलिका दिनमा फेरि उनीहरू एक होलान् वा नहोलान्। तर, बुधबारदेखि राजनीतिले भने नयाँ मोड लिएको छ।

नेपालनिकट मानिए पनि एमाले समाजवादीमा सामेल नभएका एमाले नेता सोमप्रसाद पाण्डे ओली र नेपालको सम्बन्ध नवौं महाधिवेशनदेखि नै चिसिएको स्वीकार गर्छन्।

त्यसपछि पनि उनीहरूको केमेस्ट्री मिलिरहेको थिएन। जब ओलीको एकल निर्णयले २०७५ जेठ ३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भयो, त्यसबेला पनि माधव नेपालले विरोध जनाएका थिए।

एकतापछि पार्टी ओलीले परिकल्पना गरेभन्दा फरक भएर गयो। ओलीले कहिले पनि सोचेका थिएनन् कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको केमेस्ट्री मिलेर आफूलाई असहज हुन्छ भन्ने। तर, प्रचण्ड र नेपालको गठजोडले ओलीलाई अप्ठ्यारो बनाएको नेता पाण्डे बताउँछन्।

गत पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विपक्षमा प्रचण्ड र नेपाल एक ढिक्का भएका थिए। दोस्रो पुस्ताका केही प्रभावशाली नेताहरूले ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै माधवलाई निरन्तर साथ दिए पनि उनीहरू पार्टी विभाजनको पक्षमा भने उभिएनन्। 

बुधबार आयोगमा दर्ता भएको माधव नेपालको नयाँ पार्टीमा ९५ केन्द्रीय सदस्य र २४ सांसद रहेका छन्। नयाँ पार्टीमा एमाले स्थायी कमिटीमा रहेकामध्ये डा. वेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्र रहेका छन्।

नेपाल समूहकै ‘कोर लिडर’ भनेर चिनिने नेताहरूले उनलाई साथ नदिनुलाई आश्चर्यका रूपमा हेरिएको छ। नेपाल समूहका भीम रावल, अरुण नेपाल, परशुराम मेघी गुरुङ, श्रीमाया थकाली, रघुजी पन्त, यज्ञराज सुनुवार, जीवन घिमिरे, रचना खड्कालगायत नेताले एमाले विभाजनलाई समर्थन जनाएनन्।

नेपालको नयाँ पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन्। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेशकुमार भट्टराई, घनश्याम भुसाल, अमृत बोहोरा पनि नयाँ पार्टीमा रहेका छैनन्।

नेपालनिकट मानिए पनि एमाले समाजवादीमा सामेल नभएका एमाले नेता सोमप्रसाद पाण्डे ओली र नेपालको सम्बन्ध नवौं महाधिवेशनदेखि नै चिसिएको स्वीकार गर्छन्।

यता, खनाल समूहमा रहे पनि प्रमेश हमाल, डा. विजयकुमार पौडेल, प्रकाश ज्वाला, जयन्ती राई, लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, विजय गुरुङ, रामकुमारी झाँक्री, रामकुमार ज्ञवाली, सुधीर साह, चूडामणि जंगली, रवीन कोइराला, नरेश खरेल, चन्द्रबहादुर शाही, बलराम बाँस्कोटा, वसन्त मानन्धर, पुरुषोत्तम पौडेल, दलबहादुर सुनार र गणेश काम्बाङ नेपाल समूहमा गएका छन्।

९० जनाको केन्द्रीय कमिटीमध्ये माधवसँग नगएकामा जीवन घिमिरे, टंक कार्की, ठाकुर गैरे, बलदेव चौधरी, ममता गिरी, यज्ञराज सुनुवार, सोम पाण्डे, सीता गिरी ज्ञवाली, माधव अर्याल, रचना खड्का, गणेश पहाडी, कमलजंग राई, कृष्ण खनाल, प्रकाश शाह, धर्मराज निरौला, झपट रावल, देवशंकर पौडेल, रामरती राम, राजेन्द्र राई, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, हरिबहादुर राई, हंशराज शाही, केदार न्यौपाने, रवीन्द्र बैठा, रामचन्द्र साह तेली, रत्नेश्वर गोइत, हरिनारायण महतो छन्।

यो अंकगणित अनुसार बुधबार नेपाल समूहले नयाँ पार्टी गठन गरे पनि मंगलबार मात्रै एमाले अध्यक्ष ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत नदिएको निहुँमा नेपालसहितका १४ सांसदलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी संसद सचिवालयलाई गराएका छन्।

भलै सांसदहरूलाई कारबाही गर्ने ओलीको निर्णयलाई संसद सचिवालयले कसरी लिन्छ, त्यो तय भइसकेको छैन। तर, उनीहरूलाई कारबाही गर्न किन ढिलाइ भनेर सभामुखलाई एमालेले ताकेता गरिरहेको छ।

अहिलेको सर्वाधिक चासोको विषय के हो भने आखिर के कुरा नमिलेर एमाले फुट्यो त?

त्यसो त, एमाले मिलाउन मरिमेटेर लागेका दोस्रो पुस्ताका नेताहरूले ओली र नेपालसमक्ष दुईवटा विकल्प अघि सारेका थिए।

पहिलो, नेपाललाई ओलीसमानको हैसियतमा अध्यक्ष दिने, दोस्रो नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने। सुरुमा दोस्रो विकल्पमै कुरा भयो। तर, पार्टीको दोस्रो अध्यक्ष बन्न नेपाल तयार भएनन्। पार्टीका हरेक निर्णयदेखि निर्वाचन आयोगमा पठाउने पत्रसम्ममा पनि आफ्नोसमेत हस्ताक्षर चल्नुपर्ने माग नेपालको थियो।

ओलीले यसअघि बारम्बार धोका दिएकाले त्यसो नगरिए पार्टीमा आफ्ना गुटका नेताहरूलाई न्याय दिन नसकिने नेपालको तर्क थियो।

नेपाल दोस्रो अध्यक्ष बन्न तयार नभएपछि समान हैसियतको अध्यक्ष बनाउने अर्काे विकल्पबारे एमालेका दोस्रो पुस्ताका नेताहरूले परामर्श गर्न थाले।

उनीहरूले मंसिरमै पार्टी महाधिवेशन गर्ने र त्यसअघि दुवै नेतालाई समान हैसियतको अध्यक्ष बनाउने गरी सहमति जुटाए। तर, सहमतिको यो प्रस्ताव ओलीले ठाडै अस्वीकार गरिदिए।

आफूसँग पार्टीको महाधिवेशनमा पराजित भएको नेतालाई समान हैसियतको अध्यक्ष मान्न नसकिने तर्क ओलीको थियो।

यही कारण नै अन्ततः एमालेमा फुटको रेखा कोरिएको थियो। पार्टी फुटेसँगै नेपाल कठिन यात्रामा आइपुगेका छन्। अढाइ दशकअघि एमाले विभाजन गरेको आरोप अहिलेसम्म वामदेव गौतमले खेप्नुपरेको छन्। 

अब त्यही आरोप चिर्दै देशभर संगठन विस्तार गर्नुपर्ने अर्को चुनौती नेपाललाई छ। आफ्नै दल नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप उनीमाथि रहेको छ। नेपालका लागि अर्को प्रमुख चुनौती आगामी चुनाव हो।

वैशाखमा हुने स्थानीय तहको निर्वाचन होस् वा प्रदेश र संघको चुनाव। नेपालसामु उल्लेखनीय उपस्थितिसहित नतिजा दिनुपर्ने चुनौती छ। 

एमाले संस्थापन पक्ष उनीप्रति चुनावमा अनुदार हुनेछ, जसले उनलाई अप्ठेरोमा पार्न सक्छ। त्यसभन्दा बढी एमाले नाम र सूर्य चिह्न छाडेर चुनावी मैदानमा उत्रिँदा उनले मनोवैज्ञानिक दबाब सामना गर्नुपर्ने हुन्छ।

Logo