माधव नेपालको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी रहने

माधव नेपालको पार्टीको नाम फेरियो, नेकपा एकीकृत समाजवादी रहने

केन्द्रबिन्दु
0
Shares

माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्। 

यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको थियो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कुनै दलसँग नाम मिल्न गए पार्टी दर्ता नहुने केन्द्रबिन्दुसँग भनेका थिए। नेकपा एकीकृत समाजवादीले यसअघि नेकपा एमाले समाजवादी नाम राखेको थियो।

सरकारले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालको नेतृत्वमा एमाले समाजवादी नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवदेन दिएपनि नेकपा एमालेसँग मिल्ने भएपछि नाम परिवर्तन गर्नुपरेको नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले जानकारी दिए।

गत २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार एमाले समाजवादी राख्दा कानूनी अड्चन आउने देखिएको थियो।

Logo