माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे (भिडियोसहित)

माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

एमालेबाट छुट्टिएको माधव नेपाल पक्षद्वारा पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने तय गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा उक्त नाम निर्वाचन आयोगबाट स्वीकृत नहुने भएपछि माधव पक्षले नाम परिवर्तन गरेको हो। यता महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेका छ। जसपासँग मिल्न गएपछि निर्वाचन आयोगले पहिलोको नाम नाममा पार्टी दर्ता गर्न नमान्ने बुझेपछि लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्। 

आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको महालेख परीक्षक कार्यालयको प्रतिवेदनले देखाएको छ। यस्तै सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम पनि ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको हो।

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादाविपरित काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरुमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य बिपत न्यूनीकरण तथा क्षतिपुरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। जलवायु परिर्वतनका कारण बर्षेनी भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो। यस्तै स्थानीय निकायमा रहेको विपद् व्यवस्थापन समितिलाई स्रोत साधन र तालिम उपलब्ध गराउन संघीय सरकारले ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिइएको छ। 

सरकारी सेनालाई पराजित गरी यही अगस्ट १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिवानले कब्जा गरेपछि उनीहरुले त्यहाँ शासन सुरु गरेका छन्। तर, त्यहाँका नागरिकको अवस्था भने दिनदिन दयनिय र बर्बर बन्दै गएको जनाइएको छ। यस विषयमा रुस, फ्रान्स, इटाली, चीन लगायत देशहरूले चासो र चिन्ता जताएका छन् भने नागरिकहरूको सहयोगका लागि अन्तरिक छलफलपनि सुरु भएको छ। यस्तै अफगानिस्तानका नयाँ शासकहरु बर्बर हुँदै गएकाले नागरिकहरूको अवस्था दयनिय बन्दै गएको पनि राष्ट्रसङ्घको एक प्रतिवेदन निष्कर्ष रहेको छ। 

आजको कोरोना अपडेट
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् ।

नेपालमा कोरोना कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ। तीमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन्।

Logo