तटस्थ बसेका नेताको निष्कर्षः १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउँदै एकतामै जोड

तटस्थ बसेका नेताको निष्कर्षः १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउँदै एकतामै जोड

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन्।

शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए। उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए। नेता बिष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए।

त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताए। उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने बताए।

उनले भने, “हामीले केन्द्रीय कमिटी र सांसदहरु गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाहीहरु र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गर्यौं, पार्टीमा विभाजनको जुन स्थिती सिर्जना भएको छ, त्यसको बारेमा हामीले छलफल गर्यौं, नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन विगतमा भएका दुष्परिणामहरुको बारेमा छलफल गर्यौं, अन्तिममा हामीले के निष्कर्ष निकालेका छौँ भने १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्छ, कारबाही रोक्नुपर्छ भन्ने माग अघि सारेका छौँ, साथै सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ।”

नेकपा एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हीतका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताए।

Logo