स्थापनाको ३१ वर्षमा तीनपटक फुट्याे एमाले, यस्ता छन् कारण (भिडियाेसहित)

स्थापनाको ३१ वर्षमा तीनपटक फुट्याे एमाले, यस्ता छन् कारण (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा (माले) र नेकपा (माक्सवादी) मिलेर बनेको नेकपा (एमाले) स्थापनाको ३१ वर्षमा तीनपटक फुटेको छ।

२०४७ चैतमा एमाले बनेयता २०५४ फागुन २१ मा नेता वामदेव गौतम नेतृत्वमा, २०६९ मंसिर ७ गते उपाध्यक्ष अशोक राई नेतृत्वमा र २०७८ भदौ २ मा वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा एमाले फुट्यो।

पार्टी फुटाएर नेकपा (माले) गठन गरेकामध्येका गौतम २०५८ मा आएपछि हाल एमालेमै छन्। उनी नेपालले गठन गरेको नेकपा (समाजवादी)मा जाने चर्चा छ। जता शक्ति उता नै रहने राजनीतिक प्रवृत्ति उनमा छ। त्यही भएर नेपालसँग जानेमा शंका छ।

यसरी स्थापनाको ३१ वर्षमा तीनपटक पार्टी फुट्नुको कारण भने फरक देखिन्छ। प्राध्यापक कृष्ण पोखरेल नेता नेपाल विभाजित भएर जानुको मुख्यतः एउटा कारण रहेको बताउँछन्। त्यो हो– पार्टी अध्यक्ष केपी ओलीमा देखिएको स्वेच्छाचारिता र उनीसँग नेपालको कार्यशैलीगत मतभेद।

उनका अनुसार कम्युनिस्ट पार्टी विभाजनको प्रवृत्तिगत मुख्य कारण नै कार्यशैलीगत मतभेद हो। जो हालै पनि पुष्टि भयो। वैचारिक मतभेदका कारण विभाजन भने कम्युनिस्ट पार्टी स्थापनाको ७२ औं वर्ष हुँदा निक्कै कम घटना भएको छ।

अध्यक्ष ओलीसँग नेता नेपालको मतभेद एमाले र माओवादी एकतापछि बनेको नेकपा हुँदादेखिको हो। परिणामतः सर्वोच्च अदालतको फैसलापछि एमाले बनेको साढे पाँच महिनामा पार्टी विभाजन भयो। यससँगै ओली–नेपालको साढे चार दशक लामो राजनीतिक सहयात्रामा विराम लागेको छ।

नेपालअघि तत्कालीन उपाध्यक्ष अशोक राई नेतृत्वमा एमाले फुट्यो। कारण–पहिचान, संघीयता र धर्मनिरपेक्षताको सवाल थियो। त्यसबेला झलनाथ खनाल नेतृत्वको एमाले यी राजनीतिक उपलब्धिको विपक्षमा उभिएको आरोप राई समूहको थियो।

र, अन्नतः राई नेतृत्वमा ‘संघीय समाजवादी पार्टी, नेपाल’ बन्यो। जहाँ एमालेभित्रका मुख्यतः पहिचान, संघीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध भनिएका आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायका नेताहरूको एउटा समूह आबद्ध भयो। राईको नेतृत्वमा एमाले फुट्नुअघि नेता गौतमले पार्टी फुटाएका हुन्। कारण– ‘महाकाली सन्धी’।

गौतम समूहले सन्धीलाई राष्ट्रघाती भन्यो। तर, तत्कालीन अध्यक्ष मनमोहन अधिकारीदेखि हालका अध्यक्ष केपी ओलीलगायत सन्धीको पक्षमा उभिए। यद्यपि, उनीहरूले ‘राष्ट्रवादी’ त भनेनन्। बरु, सन्धी नेपालको पक्षमा रहेको जिकिर गरिरहे।

यसरी महाकाली सन्धी राष्ट्रघाती कदम भन्दै गौतम नेतृत्वमा नेकपा (माले) बन्यो। सोहीकारण, २०५६ मा भएको आम निर्वाचनमा एमाले दोस्रो बन्न पुग्यो। जबकि, २०५१ मा मध्यावधि निर्वाचनमा ठूलो पार्टी बन्दै पहिलो कम्युनिस्ट सरकार एमालेले गठन गरेको थियो। थप जानकारी याे भिडियाेमा 

 

Logo