सांसद शाही र वलीलाई हटाउन मिल्दैनः लुम्बिनी प्रदेश सभामुख

सांसद शाही र वलीलाई हटाउन मिल्दैनः लुम्बिनी प्रदेश सभामुख

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ।

ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष एमालेले पत्र पठाएको थियो।

तर, ती सांसदद्वयलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरबाट एमालेलाई पठाइएको छ।

प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई बुझाइएको पत्रमा उल्लेख छ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएका छन्।

शाही प्रदेशसभा निर्वाचन २०७४ मा हृदयेश त्रिपाठीको समूह ‘स्वतन्त्र राजनीतिक समूह’बाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित भएका थिए। उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् ।

त्यस्तै वली तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपा एमालेबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् । र, उनले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन्।

Logo