एकताको अभिभावक बन्न राष्ट्रपतिलाई उकास्दै छन् एमाले नेताहरू

एकताको अभिभावक बन्न राष्ट्रपतिलाई उकास्दै छन् एमाले नेताहरू

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको बेला पार्टी मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन्। 

अध्यक्ष केपी ओलीप्रति असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएपछि राष्ट्रपतिले एकताको निर्णायक पहल थालेकी हुन्। नेता नेपालसँग लामो तिक्ततापूर्ण सम्बन्ध र संवादहीन अवस्थालाई तोड्दै भण्डारीले सोमबार शीतल निवासमै बोलाएर नेपालसँग कुराकानी गरेकी छन्। 

यसअघि एमालेकै अर्का असन्तुष्ट नेता भीम रावलसँग भेट गरेपछि राष्ट्रपति भण्डारीले एकताको पहलकदमीलाई तीव्रता दिएकी हुन्।  

तीन घन्टा लामो भेटमा रावलले पार्टीलाई फुटबाट जोगाउन अभिभावकको भूमिका निर्वाह गर्न उक्साएपछि उत्साही भएकी राष्ट्रपतिले महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराईलगायतका नेतामार्फत एकताको दबाब तीव्र पार्दै आएकी छन्। 

दोस्रो तहका नेताहरूसँगको भेटपछि विगतमा माधव नेपाल विचार समूहसँग निकट भएका, तर पार्टी दर्ताका क्रममा तटस्थ बसेका स्थायी कमिटीका नौजना नेताहरूसँग केपी ओलीले आजमात्रै एमालेमै रहनेगरी सहमति गरेका छन्। 

एमालेको संगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा फर्काउने, सर्वोच्च अदालतले नेकपा विघटन गर्ने फैसला गरेपछि ओली र नेपाल समूह दुवै पक्षले बनाएका समानान्तर कमिटी खारेज गर्ने र नेपाल नयाँ पार्टी दर्तावाट पछि हटे यसअघि सांसद पदबाट हटाउने गरी भएका कारबाही फिर्ता लिनेलगायतका सहमति ओली र नेपाल पक्षमा विगतमा रहेका नेताबीच भएको छ।

यो सहमतिलाई भोलि (मंगलबार) ११ बजे बस्ने स्थायी कमिटी बैठकले अनुमोदन गर्ने र विगतमा बैठकमा सहभागी नभएका नेपाल पक्षधर भनिएका नेताहरू बैठकमा सहभागी हुने गरी भएको सहमतिमा राष्ट्रपति भण्डारीकै दबाबले काम गरेको एमालेका एक नेता बताउँछन्। 

उनका अनुसार राष्ट्रपतिले थालेको दबाब अभियानअन्तर्गत नै नेपालसँग भेट भएको भनिए पनि नेता नेपाल भण्डारीको प्रस्तावमा सहमत भने भइसकेका छैनन्। 

उनले आफ्नो विचार समूहका नेतासँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने बताएर शीतलनिवासबाट बाहिरिएको राष्ट्रपतिका एकजना सल्लाहकारले न्युज कारखानालाई बताएका छन्। न्युज कारखानाबाट

Logo