औपचारिकरुपमै फुट्यो एमाले, महन्थले पनि पाए नयाँ दल (भिडियोसहित)

औपचारिकरुपमै फुट्यो एमाले, महन्थले पनि पाए नयाँ दल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भएको माधव नेपाल समूहलाई  मुल पार्टीमा फर्किन आग्रह गरेका छन्। विभाजनको बाटो हानिकारक भएकाले त्यो बाटो नअपनाउन र मूल घरमा फर्किन आग्रह गरे। ओलीले नेपाल पक्ष आए यसअघिका कामको आधारमा कुनै पूर्वाग्रह नराख्ने जानकारी दिए। तर, पार्टी विभाजन गरि नयाँ पार्टी गठनको अन्तिम चरणमा रहेका माधव पक्षले भने प्रतिगमनका मतियार ओलीले धोका दिने भन्दै ओलीको बहिर्गमन अघि पार्टी एकता नहुने प्रष्ट पारेको छ।

माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको गरेका छन्। बुधबार दुबै समूहका सांसद र केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन्। राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधीभित्रै पार्टी महाधिवेशनको सुरु हुनुपर्ने बताएका छन्। त्यसका क्रियाशील सदस्यता पारदर्शी ढंगले टुंग्याउनुपर्ने धारणा राखे । उनीपक्षीय जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनुसनप्रति आज ऐक्यवद्धता जनाउँदै महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासँगै बाँकी नेताहरू इमान्दार हुनुपर्ने पौडेलको माग छ। अनसनप्रति ऐक्यवद्धता जनाउन महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंहलगायत पनि पुगेका थिए। 

पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् । पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए। नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए। कार्यक्रममा एमाले नेता खिमलाल भट्टराई, कांग्रेस नेतृ पुष्पा भूसाल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतले विचार राखेका थिए। 

नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेल हुने भएको हो। नेपाली टोलीले बंगलादेशी टोलीसँग सेप्टेम्बर ९ र १२ गते दशरथ रंगशालामा खेल्ने खेल्ने तय भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमले यसअघि पनि बंगलादेशलाई भने हराउँदै आएको छ। यसपटक पनि खेल नेपालले जित्ने अनुमान गरिएको छ।

Logo