प्रदेश १ का नाै केन्द्रीय सदस्य र दुई सांसदको साथ माधव नेपाललाई

प्रदेश १ का नाै केन्द्रीय सदस्य र दुई सांसदको साथ माधव नेपाललाई

केन्द्रबिन्दु
0
Shares

माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ का नाै केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन्।

नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का नाै जना केन्द्रीय सदस्य एमाले विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) मा सहभागी भएका हुन्।

नेकपा एमालेभित्र चलिरहेको अन्तरसंघर्षमा नेपाल समूहमा आवद्ध भएका १६ जना केन्द्रीय सदस्यमध्ये ९ जनाले निर्वाचन आयोगमा उपस्थित भई विभाजनको पक्षमा सनाखत गरे।

नवगठित पार्टीमा प्रदेश १ बाट २ जना मात्र संघीय सांसदले साथ दिएका छन्। जसमा वरिष्ठ नेता खनाल र तेह्रथुमका भवानी खापुङमात्र नयाँ पार्टीमा आबद्ध भएका छन्। खनाल भारतको दिल्लीस्थित अस्पतालमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत उनको सनाखत लिएको छ भने खापुङ आफैँ उपस्थित भएका थिए।

प्रदेश १ बाट नेपाल समूहमा रहेका संघीय सांसद याेगेश भट्टराई, पवित्रा निरौला, पर्शुराम मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार नेपाल नयाँ पार्टी गठनमा सहभागी भएका थिएनन्।

केन्द्रीय सदस्यमा खनालबाहेक भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाईं, मोरङका घनेन्द्र बस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका देउमान साम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्न निर्वाचन आयोगमा सहभागी भएका हुन्।

खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगे भए पनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उनको सनाखत गराएको थिएन।

एमालेभित्रको अन्तरसंघर्षका क्रममा माधव समूहमा रहेका एमाले सचिवद्वय भीम आचार्य र योगेश भट्टराईसहित केन्द्रीय सदस्य रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले पार्टी विभाजनको पक्षमा साथ दिएनन्। भट्टराई र आचार्य एमाले बैठकमै सहभागी भइसकेका छन् भने अन्य केन्द्रीय सदस्य पनि विभाजनको पक्षमा उभिएका छैनन। यसअघि भाष्कर काफ्लेले निर्वाचन आयोगमा  विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेपनि सनाखत गर्न भने उपस्थित भएनन।न्युज कारखानाबाट

Logo