पार्टी कार्यालयमा कांग्रेसका जिल्ला सभापतिहरुको रिले अनसन यथावत (भिडियोसहित)

पार्टी कार्यालयमा कांग्रेसका जिल्ला सभापतिहरुको रिले अनसन यथावत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाली कांग्रेसको आठ लाख ५२ हजार बढी क्रियाशील सदस्य छन्। सदस्यहरू चाहिँ को–को हुन्? नामावली सार्वजनिक छैन। सार्वजनिक नहुँदा सदस्य छु कि छैन? स्वयं कांग्रेसी नेता कार्यकर्ता संशयमा छन्। जबकि, सदस्यहरू वडा अधिवेशनको मतदाता हुन्। अधिवेशन यही भदौ १८ गते हुँदैछ। अधिवेशन हुन आठ दिन बाँकी छँदासम्म क–कसले नयाँ सदस्यता पाए? र क–कसको सदस्यता नवीकरण भयो? यकिन नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरू रिले अनसनमा छन्।

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने भएको छ। बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

जनवादी गायक जेबी टुहुरेको निधन भएको छ। ७८ वर्षिय टुहुरेको बिहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। भाद्र १ गते दिउँसो अचानक स्ट्रोक भएपछि गम्भीर विरामी परेका टुहुरेको वल्खुस्थित वयोधा अस्पतालको सिसियु कक्षमा उपचार भइरहेको थियो। टुहुरे मधुमेह, उच्च रक्तचापसहितका दीर्घरोगबाट पनि पीडित थिए। दर्जनौं जनपक्षीय गीतमा आवाज भरेका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई…’ बोलको गीत हरेक नेपालीमा कर्णप्रिय छ। 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, माक्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन्। यस्तै नेता नेपालले आफ्नो पार्टी तत्काल गठबन्धन सरकारमा जाने उद्घोष गरेका छन्। 

दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दैछ। दक्षिण एसिया बाहेक वीरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव संगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ। बलिया प्रतिद्वन्द्वी भएपनि राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी गरिरहेको छ। 

Logo