कांग्रेसमा क्रियाशील सदस्यता सार्वजनिक गर्न किन आलटाल?

कांग्रेसमा क्रियाशील सदस्यता सार्वजनिक गर्न किन आलटाल?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका आठ लाख ५२ हजार बढी क्रियाशील सदस्य छन्। सदस्यहरू चाहिँ को–को हुन्? नामावली सार्वजनिक छैन।

सार्वजनिक नहुँदा सदस्य छु कि छैन? स्वयं कांग्रेसी नेता कार्यकर्ता संशयमा छन्। जबकि, सदस्यहरू वडा अधिवेशनको मतदाता हुन्। अधिवेशन यही भदौ १८ गते हुँदैछ।

अधिवेशन हुन आठ दिन बाँकी छँदासम्म क–कसले नयाँ सदस्यता पाए? र क–कसको सदस्यता नवीकरण भयो? यकिन नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरू रिले अनसनमा छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनदेखि अनसनरत उनीहरू क्रियाशील सदस्यताको विवरण सार्वजनिक नभएसम्म अनसन नतोड्ने अडानमा छन्। 

अनसनप्रति वरिष्ठ नेता पौडेलले ऐक्यवद्धता पनि जनाइसके। यसरी तीन दिनदेखि अनसन जारी रहँदा पनि सभापति शेरबहादुर देउवाले सदस्यता सार्वजनिक गर्न नचाहनुको कारण के हो?

सभापति पदका उम्मेदवारी घोषणा गरेका युवा नेता कल्याण गुरुङ भन्छन्, –सदस्यताबारे देउवा पारदर्शी र निष्पक्ष नहुनु।

लोकतान्त्रिक पार्टीमा अधिवेशन आउन लाग्दासम्म पनि सदस्यहरूको नामावली गुपचुप हुनुलाई नेता गुरुङले अशोभनीय मानेका छन्।

पौडेलपक्षीय केन्द्रीय सदस्यसमेत रहेका नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी सभापति देउवाले क्रियाशील सदस्यता सार्वजनिक नगर्नुको पछाडि वडा तह हुँदै जिल्लादेखि आएका क्रियाशील सदस्यहरूको नामलाई कटौती गरेर केन्द्रबाट प्रविधिलाई दुरुपयोग गर्दै थपेको आशंका व्यक्त गर्छन्।

त्यही भएर नामावली सार्वजनिक नगरेको सभापति केसीको भनाइ छ। कांग्रेसको क्रियाशील सदस्यता विवाद मंगलबार टुंगिएको हो। टुंगिएपछि सदस्यता सार्वजनिक गर्नुपर्ने पौडेलपक्षीय जिल्ला सभापतिहरूको जोड छ।

सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री डा.प्रकाशशरण महत भने आमरूपमा क्रियाशील सदस्यताको विवरण सार्वजनिक नगरिए पनि नेता पौडेललगायत नेताहरूले हेर्न पाउने गरी सार्वजनिक भइसकेको बताउँछन्।

सदस्यता को–को हुन् भन्ने थाहा पाइ पाइ नेता पौडेल अनसनस्थल गएर ऐक्यबद्धता जनाउनुलाई उनी अचम्म ठान्छन्।

फेरि, अझै पनि क्रियाशील सदस्यता ‘इन्ट्री’ जारी रहेकाले आम मानिसले देख्न पाउने गरी सार्वजनिक नगरिएको सहमहामन्त्री महतको भनाइ छ। कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुँदैछ। 

Logo