एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधव नेपाल चयन (भिडियोसहित)

एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधव नेपाल चयन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ। पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए। 

निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ । निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो । अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न पाउने भएका छन् र त्यसवापत एमाले र जसपाले कसैलाई कारवाही गर्न भने नपाउने भएको छ।

अविरल वर्षाका कारण देशभरको जवनजीवन प्रभावित बनेको छ। देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेका छ भने, तराईका धेरै स्थान डुवानमा परेका छन्। सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन्।

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ३ हजार १ सय ५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३ हजार १०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३ सय ८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो । तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको हो। 

तालिवानले नियन्त्रणमा लिएको अफगानिस्तानमा बैंकिङ प्रणाली नै कोल्याप्सको अवस्थामा पुगेको छ।बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ तर, तालिवानहरूले पैसा झिक्न जानेलाई ढुंगामुडाको यातना दिन थालेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ। तालिवानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ। 

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ। नेपालमा आज १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १७४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५९ हजार २२२ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ९७१ जना पुगेको छ। आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ। आज १० हजार २९७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ९४ हजार १३७ जनाको पिसिआर र ४ लाख ६१ हजार ४९९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo