भदौ १६ भित्र मन्त्रालय भागबन्डा, त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार

भदौ १६ भित्र मन्त्रालय भागबन्डा, त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार

केन्द्रबिन्दु
0
Shares

सरकार गठन भएको डेढ महिना हुँदा पनि सत्तारुढ गठबन्धनका घटकहरूबीच मन्त्रालय भागबण्डा नटुंगिएकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धनको आज बसेको बैठकले पनि चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने भन्ने मात्रै निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।

उनका अनुसार कहिलेसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने भन्नेबारे भने बैठकले टुङ्ग्याएन।

२९ असारमा शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपनि उनको मन्त्रिपरिषद्मा चार जना सदस्य छन्। जसका कारण सरकारको कामकारबाही प्रभावकारी बन्न नसकेको सत्तारुढ गठबन्धनभित्रै आवाज उठ्न थालेको छ।

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले परमादेश सरकारले पूर्णता पाउन नसकेको र चाँडै गठबन्धन भत्किने टिप्पणी गरिसकेको छ।

गठबन्धनको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले नेकपा (एकीकृत समाजवादी) पार्टीको वैधानिकताका लागि पर्खिँदा मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको र गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको केन्द्रविन्दुलाई बताए।

स्रोतका अनुसार यही १६ भदौसम्ममा मन्त्रालयको भागबण्डा टुंग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनका शीर्ष नेताहरूको तयारी छ। यस्तै, गठबन्धनको बैठकमा केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट ‘उट्पट्याङ’ भएकोले नयाँ बजेट ल्याउनेबारे पनि छलफल भएको छ।
समाजवाद झल्किने बजेट ल्याउन गठबन्धनका पाँचै दल सहमत भएको सचिव पुरीले बताए।

कांग्रेस महामन्त्री खड्काले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश, बजेटसँगै संसदलाई प्रभावकारी बनाउनेबारे गठबन्धनका प्रमुख सचेतकहरू, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र अर्थमन्त्रीसहितको बैठक बस्ने भएको बताए।

बैठकमा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनासम्बन्धी छानबिन गर्न गठिन समितिको प्रतिवेदन आएपछि तत्काल भारतसँग कूटनीतिक छलफल गरी आवश्यक प्रक्रिया थाल्न सरकारलाई गठबन्धनका नेताहरूले सुझाएका छन्।

Logo