कांग्रेस महाधिवेशनः सभापति छाडेर महामन्त्री पदमा युवा नेतृत्वको जोड (भिडियाे)

कांग्रेस महाधिवेशनः सभापति छाडेर महामन्त्री पदमा युवा नेतृत्वको जोड (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

हामीले प्रत्येक दिन टप फाइभ समाचार भिडियो सामग्रीसहित अपडेट गर्ने गरेका छौं। प्रस्तुत छ, आजको टप फाइभ समाचारः

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले उम्मेदवारीको घोषणा गर्न थालेका छन्। विशेष गरेर सभापति छाडेर युवा नेतृत्व महामन्त्री पदमा केन्द्रित देखिएका छन् । जसमा युवा नेताहरू गगनकुमार थापा र मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारीको घोषणा गरिसकेको छन्। पार्टीमा नेता थापा कृष्णप्रसाद सिटौला पक्षका हुन् भने, रिजाल शशांक कोइराला परिवार निकट मानिन्छन्। 

मन्त्रिपरिषदको बिस्तार र अन्य राजनैतिक मुद्दामा अलमलिँदा सरकारले नै अगाडि सारेका अध्यादेश निष्कृय हुने सम्भावना बढेको छ। अहिले संसदमा टेबल भएका अध्यादेश के गर्ने भन्ने सर्वत्र चासो छ। कतै प्रतिस्थापन विधेयक नआउँदा निष्कृय हुने हो कि भन्ने आशंका पनि बढेको छ। सदनमा प्रस्तुत भएका अध्यादेशहरुमा बजेट तथा कार्यक्रम समेटिएको आर्थिक अध्यादेश, विनियोजन सम्बन्धी अध्यादेशलगायत अन्य टेबल भएका अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर अगाडि बढाउने वा निष्कृय बनाउनुपर्ने संवैधानिक बाध्यता छ । यस्तो अवस्थामा अब सरकारले संसद् बैठक बोलाउने बाध्यात्मक परिस्थिति निम्तिँदै गएको छ । 

काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । अवरोध भए बल प्रयोग गरिने प्रशासनले जनाएको छ। ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको मेयर विद्या सुन्दर शाक्यले बताएका छन्। 

म्यानचेस्टर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ। मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो। सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ। पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन्। यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए।

२० वर्षदेखिको मिसन अन्त्य गर्दै अमेरिकाले सोमबार राति अफगानिस्तानबाट आफ्ना सबै सेना स्वदेश फिर्ता लगेको छ। यस क्रममा तालिबानले अफगानिस्तानको रात्रिकालीन आकाशमा मेसिन गनले फायरिङ गर्दै विजयोत्सव मनाएका छन्। अमेरिकी सेना अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा फिर्ता भएको हो। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी हुँदै अमेरिकाले अफगानिस्तान छाडेको हो। 

आजकाे काेराेना अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ। नेपालमा आज १ हजार ६६४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १४१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६२ हजार ६४७ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ५०५ जना पुगेको छ। आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ। आज १२ हजार २२२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख १५ हजार १४६ जनाको पिसिआर र ४ लाख ६८ हजार ९४५ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

Logo