कांग्रेस वडा अधिवेशन नजिकिएसँगै राजधानी छोडेर गाउँ जाने बढे

कांग्रेस वडा अधिवेशन नजिकिएसँगै राजधानी छोडेर गाउँ जाने बढे

केन्द्रबिन्दु
0
Shares

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ। 

पार्टीको विधानअनुसार चार वर्षमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि संविधानअनुसार पाँच वर्ष छ महिनापछि हुन लागेको महाधिवेशनमा भाग लिन उपत्यका छोडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको हो। राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन्। 

विसं २००३ मा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४ औँ महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ। विसं. २००३ को मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२/०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्वका साथ हेरिएको छ। 

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको ०७२ फागुनमा पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो। उक्त महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो। नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी कांग्रेसको वडा, पालिका हुँदै जिल्ला अधिवेशनमा भाग लिनका लागि एक हप्ता पहिल्यै गोरखा पुगिसकेका छन्। 

“वडादेखि पालिका हुँदै जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व तथा प्रतिनिधि चयन गर्नुपर्छ भन्ने मान्यताका साथ म अहिले गाउँगाउँमा हिँडेको छु”, उनले भने। नेतृत्व छनोटका विषयलाई जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भएकाले सर्वसम्मत नेतृत्व निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ। 

यस्तै, नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्का पनि अधिवेशन नजिकिएसँगै गृहजिल्ला पुगेका छन्। साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्दै कांग्रेस सङ्गठनलाई थप मजबुद बनाउनका लागि आफू सङ्खुवासभा आएको उनले बताए। नेपाली कांग्रेस धादिङका क्रियाशील सदस्य क्रिसमान तामाङ पनि वडा अधिवेशन नजिकिएसँगै धादिङ गएका छन्। धादिङको उत्तरी क्षेत्र रुवीभ्यालीका तामाङ आफ्नो गाउँ मोटरबाटोबाट धेरै हिँड्नुपर्ने भएकाले आज नै गाउँ गएका हुन्। “बर्सातको समय आवतजावतमा समस्या हुन सक्छ, त्यसैले दुईदिन पहिले नै म गाउँ जान लागेको हो”, उनले भने। 

यसरी १४ औँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ता जिल्ला र गाउँमा जान थालेपछि गाउँगाउँमा राजनीतिक माहोल निर्माण भएको छ। पटकपटक निर्वाचनको मिति तोकिँदै स्थगित हुँदै आएको कांग्रेसले भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशन सम्पन्न गर्न लागेको छ। कांग्रेसले भदौ २७ मा गाउँ तथा नगर अधिवेशन, आगामी असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यस्तै, आगामी कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन र मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ। 

कांग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि ५३ जिल्लाको क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक गरिसकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले क्रियाशील सदस्यता विवाद टुङ्गो लागेका जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि  निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए। बाँकी जिल्लाको अधिवेशनका लागि पनि चाँडो क्रियाशील सदस्यता सार्वजनिक गरेर निर्वाचन अधिकृत खटाउने घिमिरेको भनाइ छ।रासस 

Logo