देउवा सरकारमाथि पौडेलको असन्तुष्टि (भिडियोसहित)

देउवा सरकारमाथि पौडेलको असन्तुष्टि (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले प्रत्येक दिन टप फाइभ समाचार भिडियो सामग्रीसहित अपडेट गर्ने गरेका छौं। प्रस्तुत छ, आजको टप फाइभ समाचार।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षबाट पार्टीको १४औं महाधिवेशनमा सभापति पदको एकजना मात्र उम्मेदवार हुने बताएका छन्। छिट्टै उम्मेदवार सार्वजनिक गरिने पनि उनले बताएका छन्। उनले उपयुक्त नेतालाई सभापति पदमा अघि बढाउने पनि जानकारी गराए। यस्तै वरिष्ठ नेता पौडेलले आफ्नै पार्टीको सरकारले नागरिकमा उत्साह दिन नसकेको भन्दै देउवाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग सम्बन्धित मुद्दामा अदालतको सहयोगी ‘एमिकस क्युरी’ उपस्थित गराउन आदेश दिएको छ। संवैधानिक इजलासमा रहेको संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ प्रक्रियाबाट प्रधानन्यायाधीश जबरा अलग हुनुपर्ने मागविरुद्ध अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटको सुनुवाइमा न्यायाधीश फुयालले रेग्मीको रिटलाई संवैधानिक विषय भएको ठहर पनि गरेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने संकेत गरेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो। भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समसामयिक विषयमा कुराकानी भएको तर, मन्त्रिपरिषद् विस्तारबारे भने आगामी २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क नगर्ने प्रतिक्रिया दिए।

पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी सेवा विस्तार तीव्र रुपमा भइरहेको छ। जसअनुरुप नेपाल ट्राफिक प्रहरीले पनि जरिवाना भुक्तानीमा डिजिटल प्रविधिको सुरुवात गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब, कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले यसअघि अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाइसकेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार १.१८ अंक बढेर २९७७.०२ विन्दुमा बन्द भएको नेप्से यस दिन ५०.१३ अंक घटेर २९२६.८९ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ८.९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९७ अंक घटेको छ। नेप्से परिसूचक ओरालो लागेपनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ। नेपालमा आज २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन परीक्षणबाट ८४ हजार २९४ जना पुगेको छ। आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ। आज १४ हजार ६५० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ३६ हजार ४१६ जनाको पिसिआर र ४ लाख ७७ हजार २६० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo