‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’: डा शेखर कोइराला

‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’: डा शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताएका छन्।

पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी उनले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताएका हुन्।

उनले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले  निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताए। “कांग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई  महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्णरूपमा अन्तरआत्माको आवाज सुन्न घच्घच्याइरहेको  छ”, डा कोइरालाले भनेका छन्।

कांग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उनको भनाइ छ। डा कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा कांग्रेस कम्युनिष्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गरे।

उनले कांग्रेसको महाधिवेशन देशभित्र मात्र नभएर विदेशमा पनि चासोका साथ हेरिने गरेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए।

Logo