किन गएनन् ओली पार्टीनिकट कानुन व्यवसायीहरुको भेलामा?(भिडियाेसहित)

किन गएनन् ओली पार्टीनिकट कानुन व्यवसायीहरुको भेलामा?(भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले प्रत्येक दिन टप फाइभ समाचार भिडियो सामग्रीसहित अपडेट गर्ने गरेका छौं। प्रस्तुत छ, आजको टप फाइभ समाचार।

पार्टीमा विवाद हुने भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानुन व्यवसायीहरुको भेलामा शुक्रबार सामेल नै भएनन्। आफू आउने बाचा समेत गरेका उनले अन्तिम समयमा भेलामा नजाने निष्कर्षमा पुगेका हुन्। त्यसो त अध्यक्ष ओली भेलाका प्रमुख अतिथि रहेका थिए। असार २७ मा भएको १० बुँदे सहमतिअनुसार एमाले एकता अघि बढिरहेको अवस्थामा उक्त कार्यक्रममा जाँदा पार्टीमा नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएको उनी निकट नेताहरुको जिकिर छ। 

नेपाली कांग्रेसको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु भएको छ । तर, वडा अधिवेशन सुरु भएकै दिन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रजातन्त्रमा संकट आउन सक्ने संकेत गरेका छन्। शुक्रबार भक्तपुर पुगेर प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा संकट आउन सक्ने अभिव्यक्ति दिएका हुन्। तर, कसका कारणले भन्ने चाहिँ उनले खुलाएनन्। 

संवैधानिक व्यवस्थाअनुसार भूमिहीनलाई राज्यले एकपटकको लागि जग्गा दिने विषय कार्यान्वयनका लागि चुनौतीपूर्ण रहेको सांसदहरुले बताएका छन्। राष्ट्रिय सभाको शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा दलित समुदाय र भूमि अधिकारको सम्बन्धमा रहेका कानूनी प्रावधानहरुको विषयमा छलफल गर्दै सांसदहरुले भूमिहीनलाई राज्यले जग्गा दिने विषय चुनौतीपूर्ण रहेको बताएका छन्। समिति सभापति पर्शुराम मेघीले जमिन उपलब्ध गराउने भन्ने व्यवस्थाअनुरुप कानून पनि बनिसकेको अवस्थामा सो कानूनको कार्यान्वयन र कार्यान्वयनको समस्याको सम्बन्धमा समितिमा छलफलअनुरुप आगामी दिनमा थप अध्ययन गरेर समितिको तर्फबाट सरकारलाई आवश्यक सिफारिस गर्ने जिकिर गरे। 

सरकारले पूर्वतयारी नभएको र स्रोत पनि सुनिश्चित नभएका झण्डै २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वतयारी नगरी ठूलो आर्थिक दायित्व सिर्जना हुने गरी आयोजना अघि बढाएको अर्थ मन्त्रालयको निष्कर्ष छ । त्यस्तै सरकारको नयाँ ठेक्का रोकले १६५ वटै निर्वाचन क्षेत्रमा लागू भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई पनि असर परेको छ। 

अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्यूयोर्कमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो। घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्। 
 

Logo