‘विकासप्रेमी सबै नागरिकले सरकारलाई सहयोग गर्नेछन्’: मुख्यमन्त्री आचार्य

‘विकासप्रेमी सबै नागरिकले सरकारलाई सहयोग गर्नेछन्’: मुख्यमन्त्री आचार्य

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन्। धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन्।

“सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो”, उनले भने। मुख्यमन्त्री आचार्यले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत बताएका छन्। “राजनीतिमा जे पनि हुन्छ”, उनले भने, “नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेकै छ।”

आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताएका छन्। आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफूसँग विकासको योजना रहेको बताए। मुख्यमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहान गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफू धरान आएको बताए।

प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानलाई असाध्यै समस्या भइरहेका कारण आफूहरूले उद्योग सञ्चालनमा ल्याएको बताए। उनका अनुसार लामो समयदेखि पशुपक्षीपालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद् तथा पशु चिकित्सकलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो। 

श्रेष्ठले उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता रहेको र बजार विस्तार गर्न उद्योगले थप रु २० करोड लगानी गर्ने योजना बनाएको बताए। प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० ले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए। देशभरका छ हजार किसान लाभान्वित हुने उनको भनाइ छ।

Logo