ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न एकीकृत समाजवादीको निर्देशन

ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न एकीकृत समाजवादीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले केपी शर्मा ओली पक्षले फैलाएका भ्रमको सशक्त प्रतिवाद र खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक प्रचारप्रसार चलाउन भनेको हो।

ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जाहेज ‘विद्रोह’ भएको अपानिमा उल्लेख छ। ओलीले पार्टी नीतिमूखी, विधि पद्धति नभई स्वच्छाचारी ढंगले चलाएको तथा उनीमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको अपानिमार्फत् आरोप लगाइएको छ।

अलग्गै भेला गरी पार्टी फुटाउने, कब्जा गर्ने उद्देश्यले केपी गुटले ७ पुसमा १ हजार ५०१ जनाको केन्द्रीय कमिटी गठनको निर्णय गरेपछि पार्टीमा थप विवाद चुलिएको अपानिमा उल्लेख छ। अपानिमा भनिएको छ, ‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत केन्द्रीय कमिटीका सबै सदस्यलाई खबर नै नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवाैं महाधिवेशनका निर्णय उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी एमालेलाई विभाजको दिशामा धकेलिदिए।’

ओलीको त्यही निर्णयबाट एमालेको विभाजन सुरु भएको उल्लेख छ। ओलीले यस किसिमबाट बलमिच्याँई र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्ण अवैध भएकाले तिनलाई सच्याई पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्‍याउन निकै प्रयत्न गरिए पनि ओलीमा देखिएको दम्भ र घमण्डले उनले सच्याउन तयार नभएपछि पार्टी पुनर्गठन गरिएको जनाइएको छ। 

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन एमाले र माओवादी केन्द्रबीच एकता भएर पार्टीका दुई अध्यक्षमध्ये ओलीले एकलौटी रूपमा पार्टीलाई नीति र विधि अनुसार नचलाएर व्यक्तिवादी ढंगले चलाउने कार्य गरेको आरोप लगाइएको छ। निर्वाचनबाट दुईतिहाइको सरकार चलाउने अवसर ओलीले पाए पनि उनले जनताको अपेक्षा र पार्टीको नीतिअनुसार कुनै पनि काम नगरेको आरोप अपानिमार्फत् लगाइएको छ।

‘निर्वाचनबाट प्राप्त सफलताकाे  श्रेय आफूले लिने, निर्वाचनबाट सम्पूर्ण अधिकार आफूमा मात्र रहेको ठान्ने,’ अपानिमा भनिएको छ, ‘पार्टी नीति र जनअपेक्षा अनुसार सरकार संचालन गर्न बारम्बार आग्रह गर्दा पनि उल्टो तरिकाले चल्ने काम गरे।’ ओलीले आफू अफ्ठेरोमा पर्दा विभिन्न खालका सहमति गर्ने गर्ने तर पालना नगरेकाे आरोप अपानिमा लगाइएको छ।

‘उनले संविधानको पालना गरेनन्। पार्टीको स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी सबैमा अल्पमतमा परेपछि त्यसको बैठक नै नबोलाउने, बैठक बोलाइहाले पनि छलफल नगर्ने र बैठक बीचमै स्थगित गर्ने काम गरे,’ अपानिमा भनिएको छ, ‘पार्टीभित्र उत्पन्न भएको गम्भीर विवाद, मतभेद र समस्याबारे पार्टीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नतर्फ नलागेर आफूखुसी  मनपरि तरिकाले  असंवैधानिक ढंगले दुई पटकसम्म संसद विघटन गरे।’

सर्वोच्च अदालतको २३ फागुन २०७७ मा तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँताउने बल पुग्नेगरी फैसला गरेकाे थियाे। त्यसपछि पनि पार्टी एकताको सम्भावना कायम रहे पनि ओलीकै कारण सम्भव नभएकाे आराेप लगाइएको छ।

'सर्वोच्चले वादी पक्षले माग नै नगरेको विषमा प्रवेश गरेर ३ जेठ २०७५ मा भएको पार्टी एकतालाई खारेज गर्दै एकतावद्ध भएका दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काइ दियो। अदालतले एकता गर्ने भए अर्को नाम लिएर १५ दिनभित्र आउन भनेकै थियो,’ अपानिमा भनिएको छ, ‘ओलीले एकता जोगाउन कुनै पहल गरेनन्। हामीले पार्टी एकता कायम राख्न त्यही अवस्थाबाट अगाडि बढ्ने अडान राखौं तर ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिंगो पार्टी कव्जा गर्ने तथा आफ्नो एक्लौटी बर्चश्व कायम राख्ने चाहनाले एमालेलाई नै विघटन गर्ने दिशामा लैजाने कोसिस भयो।’ 

एकता कुनै एक पक्षले चाहेर मात्र नहुने भन्दै समाजवादीले ओलीले पार्टी एकताका लागि वार्ताको नाटक गरेको आरोप लगाएको छ। ओलीले एकताका लागि वार्ता गर्न खटाइएका व्यक्तिले वार्ताको पहलभन्दा जालझेल गरेको आरोप लगाइएको छ। अपानिमा भनिएको छ, ‘१० बुँदे कथित सहमति गरियो, जुन ओली पक्षको गम्भीर षड्यन्त्रको कदम थियो।’ ओली प्रवृतिविरुद्ध वाम-लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समाजवादीले गठबन्धनलाई आगामी निर्वाचन सम्म कायम राखिने जनाएको छ।न्युज कारखानाबाट

Logo