कार्यदलका नेताले नेपाल समूहलाई धोका दिएको होइन, उनीहरुले हामीलाई धोका दिएः नेता पाण्डे

कार्यदलका नेताले नेपाल समूहलाई धोका दिएको होइन, उनीहरुले हामीलाई धोका दिएः नेता पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा एमालेलाई देशभरबाट ५–१० प्रतिशत मात्र नोक्सानी हुने बताएका छन्। 

मंगलबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको तर, देशभर ‘५–१० प्रतिशत नोक्सानी होला। त्यसलाई पूर्ति गर्न हामीले काम गर्नु पर्नेछ,’ उनले भने।

पाण्डेले अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताएका छन्। स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको पनि बताएका छन्। 

भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए । पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो। 

‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं। पार्टीलाई एकतावद्ध बनाउने टिममा म पनि थिएँ। माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर, भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने।

केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले नभइ नेपालहरुले दिएको बताए। 

‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो। तर, हाम्रो प्रयास आंशिक सफल भयो, आंशिक असफल भयो।’

नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो। ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो। त्यसैले फर्कनुस् भन्न चाहन्छु,’ पाण्डेले अगाडि भने, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं।’

पार्टी विभाजनमा देश विदेशका शक्तिको पनि खेल भएको बताउँदै पाण्डेले गल्ती उनीहरुको नभएर आफूहरुकै भएको पाण्डेले बताए । ‘कांग्रेस झगडा गर्छ फुट्दैन, कम्युनिष्ट झगडा पनि गर्छौं र फुट्छौं पनि,’ उनले अगाडि भने, ‘आज पार्टी सम्हालौं र एउटा बिन्दुमा गएर समीक्षा गरौंला।’

नेकपा एमाले छिन्नभिन्न पार्ने बीचमा माओवादीलाई ल्याएर प्रयास भएको र त्यो अहिले असफल भएको पाण्डेको भनाइ थियो। 

एमाले कुनै पनि हालतमा छिन्नभिन्न नहुने उनको भनाइ थियो।

Logo