प्रदेशसभा र स्थानीय तहका सदस्यको सनाखतका लागि निर्वाचन आयोगले दिएकाे समय सकियाे

प्रदेशसभा र स्थानीय तहका सदस्यको सनाखतका लागि निर्वाचन आयोगले दिएकाे समय सकियाे

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ।

निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो।

प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिलाई सनाखतको व्यवस्था गरेको हो।

तोकिएको समयावधिभित्र ती दुवै नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत गर्ने कार्य भएको सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए। जनप्रतिनिधिबाट सनाखत भएको विवरणसहितको प्रमाणित प्रतिवेदन सबै जिल्लाबाट आएपछि आयोगको बैठकबाट त्यस सम्बन्धमा निर्णय हुने उनले बताए। 

पछिल्लो समय बर्सातका कारण कतिपय सडक अवरुद्ध भएकाले जिल्ला जिल्लाबाट प्रतिवेदन आउन पाँच, छ दिनसम्म लाग्न सक्ने आयोगले अनुमान गरेको छ। 

Logo