कांग्रेसका वडा अधिवेशन ५४ जिल्लामा सम्पन्नः दुई जिल्लामा आज, २१ जिल्लाकाे टुंगाे छैन

कांग्रेसका वडा अधिवेशन ५४ जिल्लामा सम्पन्नः दुई जिल्लामा आज, २१ जिल्लाकाे टुंगाे छैन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ/नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
 
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
 
त्यस्तै भदौ २१ गते  ११ र भदौ २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उनले बताए। दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने समितिले जनाएको छ। यसबाहेक २० जिल्लामा क्रियाशील सदस्यता नामावली प्रकाशनको हालसम्म टुङ्गो लाग्न सकेको छैन। अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी अवस्थामा रहेको समितिले जनाएको छ।
 
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ, नगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्।
 
कांग्रेसले गाउँ, नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ, नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरेको छ। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

यस्तै नेपाली कांग्रेसले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशन प्रचारात्मक नारा तय गरेको हो। 

महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको विभागका सचिव दिनेश थापा मगरले बताए। उनका अनुसार सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिने छ। ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ। थापा मगरका अनुसार कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने छ।

कांग्रेसले स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने भएको छ। विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उपसमितिका संयोजक ई. दिपेश विष्टको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी बैठकले विभागका सदस्य रामचन्द्र घिमिरेको संयोजकत्वमा गठित नेपाली कांग्रेसको नेतृत्वमा हासिल उपलब्धि अध्ययन कार्यदलले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गरेको छ।
बैठकले उत्साह, एकता र रुपान्तरणको भावना अनुरुप महाधिवेशनको महायज्ञमा सरिक हुन देशभरको पार्टी पंक्तिलाई अपील गर्ने निर्णय गरेको छ।

Logo