आज राति १२ बजेपछि नेपाली कांग्रेस अवैधानिक !

आज राति १२ बजेपछि नेपाली कांग्रेस अवैधानिक !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको विधान र संविधानअनुसारको ६ बर्षे अवधि आज सकिँदै छ।

अवधि सकिएपछि कांग्रेस अवैधानिक हुने संवैधानिक कानुनका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार आज राति १२ बजेपछि कांग्रेस अवैधानिक हुनेछ। 

हाल गठबन्धन सत्ताको नेतृत्व दल कांग्रेस, मुलुकको ठूलो लोकतान्त्रिक दल पनि हो । र, विधिको शासनको पक्षमा उभिएको बारम्बार प्रष्ट्याउँछ। तर, लज्जाजनक ढंगले महाधिवेशन समयमै गर्न नसक्दा वैधानिकताको प्रश्न उठ्न सक्ने संविधानविद् डा. भीमार्जुन आचार्य बताउँछन्।   

‘संविधानको धारा २६९ को उपधारा (४) (ख) अनुसार महाधिवेशन नभएर एक दिन कटे कांग्रेसविरुद्ध वैधानिकताको प्रश्न स्वाभाविक उठ्छ’, आचार्यले केन्द्रविन्दुसँग भने।

अदालतमा कांग्रेसको वैधानिकताबारे चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै छ।
आजसम्म निर्वाचन आयोगलाई महाधिवेशन र त्यसको कार्यतालिकाबारे कांग्रेसले जानकारी गराएको छैन।

वरिष्ठ अधिवक्ता बाबुराम कुँवर त संविधानअनुसारको विशेष परिस्थितिमा प्रयोग गर्न मिल्ने ६ महिने अवधिबारे निर्वाचन आयोगलाई जानकारी पनि नगराउँदा २०७७ फागुन २३ देखि नै अवैधानिक भएको बताउँछन्।

तर, कसैले वैधानिकताको प्रश्न नउठाएको बताए। 

कांग्रेसको १३ औं महाधिवेशन २३ फागुन २०७२ मा भएको थियो। चार बर्से अवधि २०७६ मा सकिएको हो। विधान अनुसारको एक बर्से अवधि भने २०७७ फागुन २३ मा सकिएको थियो। र, संविधानअनुसार विशेष परिस्थितिमा ६ महिने अवधि आज सकिँदै छ।

यसबारे कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत महाधिवेशन घडीको पल्ला तोकेर हुने कुरा नभएको बताउँछन्।

आज भन्दा पछि कांग्रेस अवैधानिक हुन्छ भनेर कहीँ नलेखिएको पनि बताए।

‘मलाई भन्दिनुहोस्, के महाधिवेशन घडीको पल्ला तोकेर हुने कुरा हो? र के साढे पाँच वर्ष नाघ्यो भने वैधानिकता सकिन्छ भनेर संविधानमा लेखिएको छ?’ सहमहामन्त्री महतले प्रश्न गरे।

महाधिवेशन दलहरूको नैतिक बन्धन मात्रै भएको उनको भनाइ छ। अनन्तकालसम्म कार्य समिति नजाओस् भनेर पार्टी विधानमा गरिएको व्यवस्था मात्रै भएको बताए।
उनका अनुसार कांग्रेस अवैधानिक हुँदैन।

‘हाम्रो महाधिवेशनको प्रक्रिया अघि बढ्यो, वडा तहको अधिवेशन सकिन लागेको छ र अवैधानिक हुने भए निर्वाचित सबै खारेजीमा पर्छन् त?’ उनको प्रश्न छ।

कांग्रेसले महाधिवेशन समयममै गर्न नसक्नुको कारण कोभिड र महाबर्खा भन्दै आएको छ।

महाधिवेशनको मिति नै तीनपटक सारिसकेको छ। यसपटक भने महाधिवेशन हुने देखिन्छ। 

किनभने वडा तहको अधिवेशन सकिन लागेको छ। त्यसपछि चरणबद्ध विभिन्न तहको अधिवेशन गर्दै मंसिरको ९ मा महाधिवेशन हुने तय भएको छ।

Logo