एमाले सांसदहरूसँग किन जंगिए सभामुख ?

एमाले सांसदहरूसँग किन जंगिए सभामुख ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बुधबारको बैठक अरु समयको बैठकभन्दा फरक देखियो। प्रतिनिधिसभाका नेता सभामुख पटक पटक कडा रुपमा कड्किए। 

संसदमा यस्तो घटना विरलै घट्ने गरेको छ।

प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा कड्किएका हुन्।

घाँटीको नशा तन्काउँदै उनले भने, म संविधान र नियमावलीभन्दा पर गएको छैन, तपाईंहरू पनि नियमावली २०७५ खण्ड ‘ख’ र ‘ग’को परिधिमा रहेर प्रस्तुत हुनुहोस्।

त्यसो त आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् ।

एमालेका सांसदहरूले सभामुखलाई लक्षित गर्दै संसदीय मर्यादा कायम गर, गैरसांसद बैठकमा बस्न पाउँदैनन्, निष्पक्ष सभामुखको भूमिका निर्वाह गर लगायतका नाराबाजी गरेका थिए । 

सभामुखले एमालेको विरोधका बीच बैठक १५ मिनेटको लागि स्थगन गरे। १५ मिनेटपछि पुनः सभामुखले बैठक सुरु गरे तर, एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गर्न थालिहाले।

दोस्रो बैठकमा पनि सभामुख सापकोटा चर्को शब्दमा बोलेका थिए । उनले सांसदहरुलाई मर्यादा बाहिर नजान चेतावनीसमेत दिए ।

‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ, मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म भन्छु, प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।

प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग मा के छ व्यवस्था ?

संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बहस गर्न बन्देज गरेको छ।

प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलपल नगरेको भन्ने विषयमाथिको छलफलबाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।

Logo