सभामुखविरुद्ध संसदमा एमाले नाराबाजी (भिडियोसहित)

सभामुखविरुद्ध संसदमा एमाले नाराबाजी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दुले प्रत्येक दिन दिनभरिका टप फाइब समाचारलाई भिडियोसहित समाचार पस्किने गरेको छ । आजको टप फाइब समाचार।

प्रतिनिधिसभाको बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले पटक पटक नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गर्न बाध्य भएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् । बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन समेत गरेका थिए । एमाले अवरोधका कारण दुई पटक स्थगित भएको बैठक पुनः भदौ २५ गते बस्ने छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन् । बुधबार लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताएका हुन् । विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको पनि प्रधानमन्त्रीको दाबी छ । प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको पनि औंल्याएका छन् । 

नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसद्लाई निर्वाध रुपमा चल्न दिनुपर्ने तथा बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्नेमा जोड दिएको छ । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको आरोप पनि लगाएका छन् ।

वागमती प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ । यता, नेकपा एसका केन्द्रीय सदस्यहरूले भने यसअघि छिट्टै नै शाक्यको सरकार ढल्ने र आफ्नो नेतृत्वमा सरकार बन्ने ठोकुवा गरिसकेका छन्। 

एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेलअन्तर्गत विहीबार नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ। प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नतिजा निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो। 
 

Logo