एमाले संसद्को हत्याराः झाँक्री

एमाले संसद्को हत्याराः झाँक्री

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्को हत्याराको संज्ञा दिएकी छिन् ।

सांसद झाँक्रीले संसदका हत्याराहरुले संसद बचाउन लागेका आफूहरुलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे थप टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।

उता नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गरेको अभिव्यक्ति दिएका छन् ।

आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरित काम गरेको नेता पुनको तर्क छ । 

संसद अवरुद्ध भएपछि संसद भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दावी समेत गरे ।

नेता पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका विजनेशहरुलाई सुचारु गराउन संसद चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरे । उनले अदालतमा विचाराधीन विषय प्रवेश गराएर संसद अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुने पनि विचार राखे ।

उता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको स्पष्ट पारे ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख  सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पुर्याएको आरोपसमेत लगाए । 
 
 

Logo