सबै जसाे राजनैतिक परिवर्तनको नेतृत्व ‘नेपाली कांग्रेस’

सबै जसाे राजनैतिक परिवर्तनको नेतृत्व ‘नेपाली कांग्रेस’

केन्द्रबिन्दु
0
Shares

साढे सात दशक यता नेपाली राजनीतिमा भएका सबै ठूला परिवर्तनको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले नै पाएको छ । २००७ सालमा देश छोडेर भागेका राजा त्रिभूवनलाई गद्दिमा पुनःस्थापित गर्दा होस् वा गणतन्त्र स्थापना गरी संविधानसभाबाट संविधान बनाउँदा, नेतृत्वदायी भूमिकामा कांग्रेस नै छ । 

नेपालको प्रजातान्त्रिक आन्दोलन बारे डेढ दर्जन बढी पुस्तक लेख्नुभएका प्राध्यापक डा. राजेश गौतमको नेपाली कांग्रेसबारे संश्लेषण । 

नेपाली कांग्रेसको स्थापना हुँदासम्म एक किसिमले जनतामा राजनीतिक चेतनाको विकास भइसकेको थियो । किनभने त्यसअघि नै मुलुकको पहिलो राजनीतिक दल प्रजापरिषद्ले राणाविरुद्ध आन्दोलन चलाइसकेको थियो। 

यसक्रममा प्रजापरिषद्का चार सदस्य दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई राणाहरुले मृत्युदण्ड दिइसकेका थिए। अध्यक्ष टंकप्रसाद आचार्यसहितका नेता मृत्युदण्डको सजाय भोगीरहेका थिए। 

प्रजापरिषद् गठन भएको झन्डै एक दशकपछि २००३ सालमा बिपी कोइरालाको अग्रसरतामा भारत प्रवासमा रहेका नेपालीहरुले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे। 

लगत्तै राष्ट्रि«य कांग्रेसको नेतृत्वमा सत्याग्रह र मजदूर आन्दोलन भयो । २००३ सालमा विराटनगरका मजदूरहरुले चलाएको हडताल नै नेपालको पहिलो संगठित आन्दोलन थियो । 

यसबीच राणा शासनको अन्त्य गर्ने उद्देश्यका साथ २००५ सालमा सुवर्णसमशेर राणाको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भयो। अनी बिपी नेतृत्वको राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेसको स्थापना भयो। 

लगत्तै नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्याे । दिल्लीमा शरण लिन पुगेका राजा त्रिभूवनलाई गद्दिमा पुनःस्थापित गरी मुलुकमा संवैधानिक राजतन्त्र स्थापना गर्ने काम कांग्रेसकै नेतृत्वमा भयो । संविधानसभाको चुनाव गराएर राजनीतिक स्थायित्व दिने मार्गचित्र २००७ सालको क्रान्तिपछि बनाइएको थियो । तर दरवारले संविधानसभा चुनाव टार्दै लग्यो ।  

२००७ देखि २०१५ को बीचमा सरकार बनाउने र गिराउने खेल भइरहे । अन्ततः २०१५ मा संसदको चुनाव भयो । कांग्रेसले दुई तिहाई बहुमत जितेर सरकार बनाएको १८ महिनामै तत्कालीन राजा महेन्द्रले सैन्यबलमा कू गरे ।

त्यसपछि ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्था कायम भयो । २०४६ सालमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा वामपन्थीसमेत मिलेर भएको जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भयो । तर पनि देशमा राजनीतिक स्थायित्व कायम हुन सकेन। तत्कालीन राजा ज्ञानेन्द्रबाट निर्वाचित सरकारलाई बर्खास्त गरी २०६१ माघ १९ मा आफ्नै नेतृत्वमा मन्त्रीपरिषद् गठन गर्ने काम भयो। 

अनि कांग्रेसकै नेतृत्वमा भएको २०६२–०६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्यो । संविधानसभा निर्वाचन र गणतन्त्रको घोषणा अनि संविधानसभाबाट संविधान बनाउने कामको नेतृत्व पनि नेपाली कांग्रेसबाटै भयो। 

अहिले पनि नेपाली कांग्रेसको मूल्याङ्कन नगरी कुनै प्रकारको आन्दोलन अघि बढाउन सक्ने स्थिती छैन। 

सबै परिवर्तनको नेतृत्व 
चौधौं महाधिवेशनको शरगर्मी बढीरहँदा कांग्रेसभित्र यसले विगत सात दशकयता खेलेको भूमिका र भावि चुनौतीबारे वहस जारी छ। 

२००७ साल यताका सबै ठूला परिवर्तनमा नेतृत्व गरेको कांग्रेसको आगामी यात्रालाई सर्वाधिक चासोका साथ हेरिएको छ। कांग्रेसको नेतृत्वमा के कस्ता परिवर्तन भए त? 

१०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ को सशस्त्र क्रान्ति कांग्रेसकै नेतृत्वमा भएको थियो। 

त्यसैगरी कांग्रेसको नेतृत्वमा २०४६ मा भएको जनआन्दोलनबाट निरंकुश पञ्चायती व्यवस्था अन्त्य भइ मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भयो। 

२०६२–०६३ को जनआन्दोलन, संविधानसभा निर्वाचन, गणतन्त्रको घोषणा र संविधानसभाबाट संविधान यी सबै युगान्तकारी परिवर्तन पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएका हुन्। 

नेपाली कांग्रेस नेपाली कांग्रेसको नेतृत्वमा

२००७ साल निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना 

२०४६ साल पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना नेपाली 

२०६२–२०६३ निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापना 

२०६४ साल संविधानसभा निर्वाचन र गणतन्त्रको स्थापना  

२०७२ साल संविधानसभाबाट संविधान जारी 

Logo