एमसीसीको पक्षमा कांग्रेस एक्लो, के भन्छन् अन्य दल?

एमसीसीको पक्षमा कांग्रेस एक्लो, के भन्छन् अन्य दल?

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्ष र विपक्षमा नेपालका राजनीतिक दलहरू विभाजित छन्। समाज पनि विभाजित छ।

यस्तो अवस्था रहँदा एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आज आएकी छिन्। अहिले उनको भेटवार्ता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बालकोटमा भइरहेको छ।

भेटमा के के विषयमा कुराकानी भइरहेको छ भन्ने खुलेको छैन। मंगलबार मात्रै एमालेले एमसीसी राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकालेको थियो। त्यसपछि एमालेले एमसीसी परियोजनाको विरोध गर्न थालेको छ।

सरकारमा रहँदा एमाले एमसीसी परियोजना संसद्देखि अनुमोदन गराउनुपर्ने पक्षमा उभिएको दल हो। 

सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा भने पहिलेदेखि नै एमसीसीको विपक्षमा छन्।

यी दलहरूले एमसीसीको चर्को विरोध गर्दै आएका छन्। अहिलेकै अवस्थामा एमसीसीलाई संसदबाट अनुमोदन गरेर कार्यान्यन गरिए राष्ट्रहित प्रतिकूल हुने यी दलहरूको निष्कर्ष छ। ‘हिन्द प्रशान्त रणनीति’ को अंग भएको टिप्पणी पनि गर्दै आएका छन्।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले एमसीसी परियोजनालाई अनुमोदन गर्न नदिइने केन्द्रविन्दुलाई बताइसकेका छन्।

आजै बिहान गठबन्धनमा रहेका यी चार दलका नेताहरूको बैठक पनि बसेको छ। बैठकपछि नेताहरूले एमसीसीलाई अनुमोदन गर्न नसकिने प्रष्ट्याएका छन्। एमसीसी परियोजना कार्यान्वयनको विपक्षीमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आधिकारिक धारणा सार्वजनिक भएको छैन। विवेकशील साझा पार्टीका सचिवालय सदस्य अब्दुस मियाँका अनुसार संशोधनपछि मात्रै एमसीसी परियोजना अनुमोदन गर्नुपर्ने  पक्षमा पार्टी छ। 

यसरी सत्ता गठबन्धमै रहेका चार दल र अन्य दलहरू विपक्षमा उभिँदा सत्ता नेतृत्व दल नेपाली कांग्रेस भने एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छ। 

यो परियोजना करिब ५६ अर्बको हो। परियोजना कार्यान्वयनका लागि एमसीसी कार्यालय र नेपाल सरकारबीच सम्झौता पहिले नै भएको हो।

संसदबाट अनुमोदन भएर कार्यान्वयन हुन मात्रै बाँकी छ। परियोजनाको नेपालमा कार्यालय पनि छ।

Logo