एमसीसी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाबीच भेटघाट, एमसीसीका बारेमा छलफल

एमसीसी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाबीच भेटघाट, एमसीसीका बारेमा छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ। 

प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ। 

नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छिन्। 

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आएकी उनले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन्। आजै उनले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेकी थिइन्। 

बिहीबार बिहान काठमाडौँमा आइपुगेकी उपाध्यक्ष सुमार दिनभर भेटघाटमा नै व्यस्त रहिन्। त्यसक्रममा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसदबाट पारित गर्न आग्रह गरेकी थिइन्।

Logo