प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छः मन्त्री भुसाल

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छः मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छिन् । 

किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताइन् । 

मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाइन्। उनले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको दोह्र्याइन् ।

कार्यक्रममा ‘किरात याक्थुङ चुम्लुङ’का केन्द्रीय अध्यक्ष योगराज बनेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका–१४ स्थित लिम्बू सङ्ग्रहालय परिसरमा निर्मित अतिथि गृहको उद्घाटन समेत गरिन्। रासस
 

Logo