एमसीसी पास गराउन सुमारको सक्रियता (भिडियोसहित)

एमसीसी पास गराउन सुमारको सक्रियता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

टप फाइब समाचारमा हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार ।

नेकपा एमालेले आगामी असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन तयारी नपुगेको भन्दै पछि धकेलेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि परिषद्मा रहने सदस्यहरुको भने टुंगो लगाएको छ। यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले हालको अवस्थामा पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको र पछि देशव्यापी रुपमा अभियान चलाउने बेलासम्ममा यो असर प्रतिशत घटेर २ भन्दा तल झर्ने दावी गरेका छन्। 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारले शनिबार अर्थमन्त्री शर्मासँग पनि शिष्टाचार भेट गरेकी छिन् । उनले नेपालमा उक्त कम्याक्टलाई संसद्बाट अनुमोदन गरिन चाँडै कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ। उपाध्यक्ष सुमारले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली सहितका शीर्षनेताहरूसँग पनि भेट गरिसकेकी छिन् । 

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।  स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको छ। अन्जानमा भएका पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व आजैदेखि समापन भएको छ ।

देशमा एमसीसी प्रकरणले राष्ट्रियतामाथि हमला भइरहेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)को निश्कर्ष निकालेको छ। उक्त पार्टीले सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेको उल्लेख गर्दै राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रमको घोषणा गरेको छ। पार्टीले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता जनता र पार्टीलाई स्वीकार्य नहुने भन्दै त्यस्तो गल्ती नगर्न चेतावनीसमेत दिएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरियतामा नेपाल यथावत नै रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपाल नेपाल १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ। 

Logo