एकीकृत समाजवादी सहभागि हुने सर्वदलीय बैठकमा एमाले नजाने

एकीकृत समाजवादी सहभागि हुने सर्वदलीय बैठकमा एमाले नजाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सरिक नहुने भएको छ। संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेलाई सर्वदलीय बैठक बोलाएका छन्।

तर, नेकपा एमाले उक्त बैठकमा नजाने भएको हो। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार जुन दल नेकपा एकीकृत समाजवादी पार्टी बनेकै छैन, सो दलसहित सहभागि बैठकमा एमाले उपस्थित हुँदैन।

सचिव तामाङले भने, ‘नेकपा एकीकृत समाजवादी दलको उपस्थितिमा बैठक बस्नुपर्छ भने सर्वोच्चले छिनोफानो गर्दिएपछि मात्र बस्न सकिन्छ, गैरकानूनीरुपमा सभामुखको असंवैधानिक कदमको बलमा गठित दलसँग हामी छलफलमा किन बस्ने?’

नेकपा एस पार्टी बैठकमा सहभागि रहँदैन भने बैठकमा जान सकिने एमालेले बताएको छ।

‘हाम्रो माग सर्वदलीय बैठकमा गठबन्धनका तर्फबाट एक र एमालेको तर्फबाट एक भएर सर्वदलीय बैठक राख्नु पर्छ। हिजोको जस्तो एमालेलाई पेलेर गइन्छ भनेर अब नसोचे हुन्छ। एमालेको विरोध जारी रहन्छ, जबसम्म समस्याको निकास निकालिदैन’,सचिव तामाङले भने।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गरिरहेको छ। गएको आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो। त्यस यता एमालेले बैठक अवरूद्ध गर्दै आएको छ। बैठकमा एमाले सहभागि नहुने भएसँगै मंगलबार पनि बैठक अवरुद्ध हुने निश्चित छ।

Logo