सभामुखलाई एमालेकाे दुई सन्देश: ‘पदमुक्त’ को सूचना टाँस र ‘मार्ग प्रशस्त’ गर

सभामुखलाई एमालेकाे दुई सन्देश: ‘पदमुक्त’ को सूचना टाँस र ‘मार्ग प्रशस्त’ गर

केन्द्रबिन्दु
0
Shares

पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख सचेतक विशाल भट्टराईमार्फत मार्ग प्रशस्तको सन्देश पठाउन लागिएको जानकारी दिए।

‘सभामुखले बोलाएको बैठकमा अध्यक्षज्यू पनि जानु हुन्न, म पनि जान्नँ। तर प्रमुख सचेतकले सभामुखलाई भेटेर दुइटा सन्देश भने दिनु हुनेछ,’ नेम्वाङले भने, ‘पहिलो एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्नेछ र दोस्रो पदीय जिम्मेवारीविपरीत कार्य गरेकाले सभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने सन्देश दिनुहुनेछ ।’ उनका अनुसार सभामुख सापकोटाले बैठक सञ्चालन गर्नु अगावै भट्टराईले सो सन्देश दिनलाई निर्देशन दिइसकिएको छ।

पार्टी गतिविधिविपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेकाे थियो। तर सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाइ छ। सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ।

एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। तर बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ओली र उपनेता नेम्वाङ नजाने बताएका छन्।

ओली र नेम्वाङ नजाने भएपछि प्रमुख सचेतक भट्टराईमार्फत पार्टीको सन्देशसहित बैठक अगाडि नै सभामुख सापकोटालाई भेट्ने प्रयत्नमा लागेका छन्।न्युज कारखाना

Logo