माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: केपी ओली

माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन्। गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए।

'यस पार्टीबाट फाइदा लिनुसम्म लिए। १६ वर्षसम्म महासचिव भए। प्रधानमन्त्री भए। पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे। महासचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए। खुरुक्क बस्या भए हुँदैनथ्यो। फेरि प्रधानमन्त्री भए। चलाउन सकेनन्। राजीनामा दिएर हिँडे। सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए। फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?' उनले प्रश्न गरे ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ। 'यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे। एमाले एकजुट भएको छ। हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,' उनले भने।

ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे। 'एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन। विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ। एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो। यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र?' उनले प्रश्न गरे।  

'वडा सदस्य पनि जित्दैनन्'

अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे। 'प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो। उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो। माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?' उनले प्रश्न गरे।

संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो। 'कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ। तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो। यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ। एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ। अनि प्रतिक्रियावादी असैह्य भयो,' उनले भने।

माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो। 'बेइमानी गरेर सरकार ढाले । नजानेर गर्नलाई केटाकेटी हुन् र। झुक्किएर त होइन होला। जानीजानी, कपाल फुलेका नजानेर गरे होलान । जानेर गरेका हुन्,' उनले भने ।  

'एमालेको वजन घटेको छैन'

अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए। नेकपाबाट प्रचण्ड गुट बाहिर गएपछि कमसेकम एमालेलाई एकजुट भएर राखौ भनेको तर माधव नेपाल जसरी पनि फुटाउने मनसायमा लागेको ओलीको आरोप थियो। 'फुटाउन सकेन चोटिएर गए। पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो। पतकर झरेर कोसी रोकिँदैन। पिलो निचौरिँदैमा वजन घट्दैन। एमालेको ओजन घटेको छ? पिलो फुत्त निस्केर गयो। एमालेको वजन घटेको छैन। झन झन बढ्दैछ,' उनले भने। न्युज कारखाना

Logo