पार्टीभित्रकै केही स्वार्थी नेताका कारण एमाले नेतृत्वको सरकार ढलेको हाेः अध्यक्ष ओली

पार्टीभित्रकै केही स्वार्थी नेताका कारण एमाले नेतृत्वको सरकार ढलेको हाेः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन्।

एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताए। “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन्। एमाले जस्ताको तस्तै छ। पार्टीबाट चोइटिएर गएका कार्यकर्तालाई म पुनः मूल पार्टीमा फर्कन आग्रह गर्दछु”, अध्यक्ष ओलीले भने, “माओवादी केन्द्रबाट एकतामा आएकामध्ये पनि ठूलो हिस्सा हामीसँग छ।”

अध्यक्ष ओलीले एमाले कार्यकर्ताको जगमा उभिएको पार्टी भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा बजेट शून्यता सिर्जना गरेको आरोप लगाए। एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी सरकारमा हुँदा भएका कामको समीक्षा गरेर जनताका बीचमा पुग्नुपर्ने बताइन्।
 
यस्तै पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी असोज १५ देखि १७ सम्म हुने विधान अधिवेशनले नीति र सङ्गठनको संरचनाबारे पुनरावलोकन गर्ने बताए। उनले १० बुँदे प्रस्तावलाई पार्टीभित्र रचनात्मकरुपमा कार्यान्वयन गर्ने जानकारी दिए।

पार्टीका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज रामबहादुर थापा ‘बादल’ ले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएकाले यसको नेतृत्वमा समृद्धि हुँदै समाजवादको लक्ष्यमा पुग्नुको विकल्प नभएको बताए। 

Logo