खुल्ला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

खुल्ला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुल्ला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। शुक्रबार विहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो। 

पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन ‘उभार’ले बताए। राष्ट्रिय राजनीतिबारे पनि छलफल चल्ने उनको भनाइ छ। ‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भएको छ। यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडि बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने। 

राज्यसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा पनि केन्द्रीय समितिले छलफल गर्ने जनाइएको छ। ‘राज्यले इमान्दारीतापूर्वक तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन। ढिलासुस्ती भइरहेको छ। हामीले इमान्दारीतापूर्वक कार्यान्वयन गरिरहेका छौं। हामी प्रतिबद्ध पनि छौं। सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौं,’ पुनले भने।  पार्टीको आन्तरिक कमिटीलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न बैठकले तय गर्ने उनको भनाइ छ। 

बैठक सकेपछि पत्रकार सम्मलेन गरेर निर्णय सार्वजनिक हुने उनले बताए। बन्दीपुरस्थित माउण्टेन रिसोर्टको हलमा सुरु केन्द्रीय समितिको बैठक ५ असोजसम्म जारी रहने पार्टीले जनाएको छ। 

तीन बुँदे सहमतिपछि २१ फागुन २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो। दुई वर्षदेखि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषद् बैठकले फुकुवा गरेपछि विप्लव नेतृत्वको नेकपा खुल्ला राजनीतिमा फर्किएको हो।न्युज कारखाना

Logo