एमसीसीभन्दा गठबन्धन महत्वपूर्णः प्रचण्ड

एमसीसीभन्दा गठबन्धन महत्वपूर्णः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा कुनै किसिमको विवाद नरहेको बताएका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन सम्वद्ध दलमा विवाद बढ्दै गएको प्रमुख प्रतिपक्षी दल एमालेको आरोपलाई चिर्दै प्रचण्डले गठबन्धनमा कुनै किसिमको विवाद नरहेको र गठबन्धन नटुट्ने बताए।

उनले संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेकाले गठबन्धन नटुट्ने, टुट्न नदिने भन्दै ढुक्क रहन आग्रह पनि गरेका छन्।

माओवादी केन्द्रको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनमा आजसम्म कुनै असन्तुष्टि पैदा नभएको पनि जिकिर गरे।

त्यसो त प्रमुख विपक्षी नेकपा एमालेले भने पाँच दलीय गठबन्धनलाई टालाटुली बाटुलीको संज्ञा दिँदै, गठबन्धन नटिक्ने र खटपट सुरु भएको आरोप लगाईरहेको छ।
शनिबार मात्रैपनि एमाले अध्यक्ष केपी ओलीले एक कार्यक्रमबीच आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराउने टिप्पणी गरेका थिए।

यी लगायत नेकपा एमालेले लगाउदै गरेको आरोपलाई चिर्दै प्रचण्डले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण हो भनेका छन्।

उनले भने,‘एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण हो, सरकारले पूर्णता नपाएको विषयलाई बहाना बनाएर गठबन्धनमा गडबड रहेको भ्रम फैलाइयो । गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सिर्जना गरिरहेका छन् ।’

त्यस्तै प्रचण्डले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने जिकिर गरे।

यसअघिका शेरबहादुर देउवा नेतृत्वकै सरकारको पालामा भएको एमसीसी सम्झौतामा प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने प्रावधान नरहेको र ओली सरकारको पालामा अर्थमन्त्रीले संसद्बाट अनुमोदन गर्ने समझौता गरेपछि एमसीसीको विवाद चर्किएको उनले बताए ।

त्यस्तै उनले प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै असोज ४ गतेभित्रै गठबन्धनको सरकारले पूर्णता पाउने दाबी गरे ।

पछिल्लो समय प्रतिपक्षी एमालेले सदन र सडकमा यही मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई सरकार र गठबन्धनलाई आलोचना गर्ने एजेण्डा बनाईरहेको छ भने नागरिकले पनि यस विषयमा देउवा सरकारको चर्को आलोचना गरिरहेका छन्।
 

Logo