माधव नेपालको राजनीतिक प्रतिवेदनः चुनावसम्मै गठबन्धन, एमाले र ओली प्रमुख दुश्मन

माधव नेपालको राजनीतिक प्रतिवेदनः चुनावसम्मै गठबन्धन, एमाले र ओली प्रमुख दुश्मन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन आगामी प्रतिनिधि सभाको निर्वाचनसम्म कायम रहने बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको बताए।

‘यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता छ,’ उनले प्रस्ताव गरेका प्रस्तावित राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्।

नेपालले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार देखिएको उल्लेख गरेका छन्।

‘मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार देखिएको जसमा एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोंच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ,’ नेता नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अर्को वाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन्।’

उनले आफ्नो पार्टी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिने बताउँदै अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र अपारदर्शीताको सख्त विरोधी रहने दाबी पनि गरेका छन्।

त्यस्तै, अध्यक्ष नेपालले अघि सारेको प्रतिवेदनमा यो पार्टी केवल चुनावदेखि चुनावसम्मको मान्यतामा चल्ने पार्टी नभएर जनतादेखि जनतासम्मको जनकेद्रित नीति लिएर जनताबीच जाने जनआधारित पार्टी हुनेछ।

प्रतिवेदनमा भनिएको छ,‘मुलुकलाई समाजको अग्रगतिका निम्ति अभियान सञ्चालन गर्ने पार्टी चाहिएको छ । समाजलाई पूँजीवादी घेरामा कैद गर्ने हो, समाजवादी दिशामा अगाडि बढाउने पार्टी चाहिएको छ। व्यक्तिका इच्छा आकांक्षामा चल्ने होइन, विचारका आधारमा चल्ने अर्थात् व्यक्तिवादी होइन विचारवादी पार्टी चाहिएको छ ।’

प्रतिवेदनमा भनिएको थप भनिएको छ,‘भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादजस्ता विकृति विसङ्गतिहरूका विरुद्ध सङ्घर्ष गर्ने पार्टी चाहिएको छ । समाजमा विद्यमान विभिन्न प्रकारका विभेद, कुरीति र कुसंस्कारहरूको अन्त्यका निम्ति अभियान चलाउने पार्टी चाहिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यिनै आवश्यकता पुरा गर्ने पार्टी हुनेछ । 

यो पार्टी स्पष्ट समाजवादी कार्यदिशा अँगालेको पार्टी हुनेछ । स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चल्ने पार्टी हुनेछ । नेता प्रधान होइन नीति प्रधान हुनेछ ।

व्यक्तिवादी होइन विचारवादी हुनेछ । यसले भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादलगायत सबैखाले विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष सञ्चालन गर्नेछ ।

समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक सांस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका निम्ति अभियान सञ्चालन गर्नेछ । राजनीतिक जागरण अभियान र जनजागरण अभियान सञ्चालन गर्नेछ । यी सबै कार्यमा युवाहरूलाई परिचालित गरिने छ र त्यसको माध्यमबाट युवाहरूको नेतृत्व विकासमा पहल गरिने छ । यो पार्टी केवल चुनावदेखि चुनावसम्मको मान्यतामा चल्ने पार्टी हुनेछैन,जनतादेखि जनतासम्मको जनकेद्रित नीति लिएर जनताबिच जाने जन आधारित पार्टी हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै माधव नेपालको राजनीतिक प्रतिवेदन नेकपा एमालेलाई प्रमुख दुश्मनको संज्ञा दिएका छन्। १३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।

‘केपी ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे ।  पार्टीमा गम्भीर संकट उत्पन्न भयो । त्यस प्रकारको संकट उत्पन्न भएपछि केपी ओलीको गुटवन्दी, स्वेच्छाचारी  प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्नैपर्ने स्थिति उत्पन्न भयो,’ नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

Logo