तोकिएको समयमै कांग्रेस महाधिवेशन हुन्छ, ढुक्क हुनुहोस्ः प्रवक्ता शर्मा

तोकिएको समयमै कांग्रेस महाधिवेशन हुन्छ, ढुक्क हुनुहोस्ः प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ ।

शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यलयमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको छ।

बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

शर्माले भने,‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रिय समितिमा हामी विधिवत रुपमा जान्छौं ।’

बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिकास्तरिय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । 

हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरिय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावनाअनुसार केन्द्रिय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए।

बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णयसमेत गरेको छ । 

प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि पार्टीले गरेको छ ।

Logo