परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि लोकतन्त्र कमजोर भयाेः ओली (भिडियाे)

परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि लोकतन्त्र कमजोर भयाेः ओली (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै यही हो अग्रगमन भनी प्रश्न गरे ।

ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । 

‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं,’ उनले भने । त्यस्तै, ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । 

गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचारी बन्दै गएको उनले आरोप लगाए।एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने र  संसद् चलिरहेको बेलामा संसदबाटै कानून बनाइनुपर्ने ओलीको जिकिर थियो।

उनले भने,‘पहिलेको ऐन–कायम रद्द हुने गरी सूचना जारी हुन सक्दैन। पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ। सूचना जारी गर्न पाइँदैन। कानून परिवर्तन गर्न पाइँदैन।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो पनि गरे। उनले भने,‘खबरदारी गरिएन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ।’

सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो। 

उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु। यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो।’ 

उनको आशय थियो, यो सरकारलाई सम्पादकहरुको खै खबरदारी ? वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको जिकिर गरे। 

Logo