वाग्मती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक छ: डा. शेखर कोइराला

वाग्मती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक छ: डा. शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वाग्मती प्रदेशमा सरकारको नेतृत्व गर्ने कांग्रेसको प्रस्ताव आपत्तिजनक भएको बताएका छन्। प्रस्तावले कांग्रेस पार्टीलाई कमजोर बनाउने उनको दाबी छ। सामाजिक संजाल फेसबुकमा एक सन्देश लेख्दै उनले यस्ताे बताएका हुन्।

कांग्रेसले नेकपा (एकीकृत समाजवादी)सँग वाग्मतीमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेको थियो। यसमा उनले आपत्ति जनाएका हुन्। ‘वाग्मती प्रदेशमा सङ्कटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा एसलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ,’  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ।’

यसप्रकारको कदमले कांग्रेसका सदस्य र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? भन्दै उनले प्रश्न गरेका छन्। ‘सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु,’ काेइरालाले भनेका छन्।

Logo