लोसपाका केन्द्रिय सदस्य राजकुमार लेखीले दिए राजीनामा, एमाले छिर्ने आँकलन

लोसपाका केन्द्रिय सदस्य राजकुमार लेखीले दिए राजीनामा, एमाले छिर्ने आँकलन

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रिय सदस्य राजकुमार लेखीले पार्टीको सबै पदबाट राजीनामा दिएका छन् । 

बिहीबार केन्द्रिय अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले उल्लेख गरेका छन्, अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजीनामा दिएको छु ।

अबको राजनीतिक यात्रा कता भन्ने प्रश्नमा उनले यही पार्टी नै भनेर खुलाएनन् । केन्द्रबिन्दुसँग उनले भने, हामी सानो पार्टीले कांगे्रस, एमाले, माओवादी ठूला दललाई निकै गाली गर्यौं । तर, ती ठूला दलभन्दा साना पार्टीले पनि केही गर्न सकेनौं । त्यसैले, लोसपाको सबै जिम्मेवारीबाट अलग भएको छु ।

एमाले पृष्ठभूमिका लेखीले २०६८ सालमा एमाले छाडी आफुनो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए । 

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष भएको बेला थरुहट आन्दोलन तथा समग्रमा आदिवासी जनजातिको आन्दोलनको अगुवाइ गरे ।

राजेन्द्र महतोले एक मधेस एक प्रदेश नभए अलग देश बन्ने चेतावनी दिँदा राजकुमार लेखी सशक्त काउन्टरमा उत्रिए । थारु मधेशी नभएको, एक मधेश एक प्रदेश नस्वीकार्ने भन्दै देशव्यापी दौडाहामा लागे । तर, २०७४ बैशाखको पहिलो साता उनी एकाएक उनै महतोको पार्टी राजपामा लुसुक्क छिरे । 

राजपाबाटै लेखीले प्रदेश सभाको चुनाव पनि लडे । तर पराजित भए । उनी प्रदेश २ को योजना आयोगको सदस्य बनाइएका थिए । तर कार्यअवधि पुरा नहुँदै हटाइए । त्यसपछि उनी जसपामा पनि खासै सक्रिय थिएनन् । 

सानो दलप्रति लेखीको मोहभंगले उनी पुनः एमाले छिर्ने आँकलन गरिएको छ ।  

Logo