नेकपा (एस) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तोः अधिकारी

नेकपा (एस) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तोः अधिकारी

केन्द्रबिन्दु
0
Shares

एमालेको सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चाजस्तो भएको बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एस) अवैधानिक पार्टी भएको बताउँदै उक्त पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको जिकिर गरे।

उनले नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहने बताए।

उनले नेकपा एमालेले गरेको संसद्को अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए।
सांसद अधिकारीले कानुन र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि अनुचित कार्यमा संलग्न नहुने जिकिर गरे।

सांसद अधिकारीले भने,‘ गठबन्धनले साँच्चिकै अवरोध खुलाउन खोजेको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्।’

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई सम्वोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए।

उनले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको जिकिर गरे।

उनले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसद्मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानुन बिपरित, संविधान बिपरित र नैतिक दृष्टिकोणले  पनि अनुचित भएको दाबी गरे।

उनले भने,‘सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग सिधा संवाद गर्दा भइगयो नि, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ । त्यसकारण आजको बैठकमा हामी गएनौं । संसदको अहिलेको हाम्रो अवरोध भनेको सभामुखको व्यवहारप्रतिको आपत्ति,उहाँको निर्णयप्रतिको आपत्ति हो भने पछिल्ला दिनमा सरकारसँग पनि हाम्रो केही आपत्तिहरु थपिएका छन्।’ 

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए।

प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफूहरु छलफलमा बस्न तयार रहेको पनि उनको भनाई छ।

Logo