माओवादी केन्द्रबाट जो–जो मन्त्री भए, ती पतन भएर गएः प्रचण्ड

माओवादी केन्द्रबाट जो–जो मन्त्री भए, ती पतन भएर गएः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुको क्रान्तिकारी चरित्र स्खलित हुँदै गएको बताएका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई बिहीबार काठमाडौंमा सम्बोधनका क्रममा प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् ।
 
प्रचण्डले भने,‘हामीले जनताको भावनाको प्रतिनिधित्व गर्दै मौलिक क्रान्ति गर्याैँ, तर अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ, हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। हामी विस्तारै विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दैछौँ ।’

प्रचण्डले हिजो प्रतिगामीहरुले आन्दोलनकारीलाई दबाउन खोजेजस्तै अहिले माओवादी नेता कार्यकर्ता पद र पैसाको लोभमा फस्दै गएको बताए ।

‘हामी अहिले पद, पैसा, कमिसनको लोभमा फसेका छौँ,’ उनले भने, ‘दलाल पुँजीपतिहरुसँग बढी नजिक हुने भएका छौँ। हिजो जनयुद्धका कुरा त विस्मृतिमा को पुगे। आज जो जति माथि पुगे, त्यति नै बडो अवसरवादी निस्किए। जो मन्त्री भयो त्यो पतन भएर गयो ।’

उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरे । 

‘जो जति माथि आयो, त्यो दलालसँग लाग्यो। हामी पनि उनै मान्छे छौँ’, उनले भने, ‘म जनयुद्धको पनि कमाण्डर, शान्ति प्रक्रियाको नेता हो । तर म पनि हेर्दा हेर्दै बिग्रिए जस्तो लाग्दैछ।’
दाहालले हिजो जनयुद्धमा लडाइँका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु आज पदको लोभमा फसेको बताए।

‘हिजो मलाई मोर्चाले मर्न पठाउनु, मर्न तयार छु भनेर रोज्नेहरु, लड्न जान पाइएन, मर्न जान पाइएन भन्ने हामी आज बिग्रियौँ’, उनले भने, ‘अहिले पद पाइएन, पैसा पाइएन भनेर रुने भयौँ। मन्त्री पाइएन भने रुने भयौँ। हामीले थाहै नपाई सहिद परिवारलाई भुल्यौँ, जनयुद्ध बिर्सियौँ ।’

त्यसो त अध्यक्ष प्रचण्डले केही अघि देखि नै माओवादी केन्द्रका नेताहरू पद र पावरको पछि लागेको आरोप लगाउदै आएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका थिए ।

जेठ ९ गते पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफू कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको बताएका थिए ।

उनले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने हुँदा मन्त्री नबनाए नेतृत्वलाई गाली आउने गरेको बताएका थिए ।

प्रचण्डले भनेका थिए,‘कुरा गर्दा आदर्शका ठूल्ठूला कुरा गर्ने तर चित्त चाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, यो आजको हाम्रो कल्चर हो ।’ 

Logo