प्रभु साहले एमालेलाई धुरुक्कै पारे, विधान महाधिवेशनमा सहभागी हुन मरिगए मानेनन्

प्रभु साहले एमालेलाई धुरुक्कै पारे, विधान महाधिवेशनमा सहभागी हुन मरिगए मानेनन्

केन्द्रबिन्दु
0
Shares

एमालेको विधान महाधिवेशनको कुम्भ मेला चलिरहेको छ । तर माओवादी समूहबाट आएका केन्द्रीय सदस्य प्रभु साह कार्यक्रममा सहभागी छैनन् । 

साहले आफ्नो माग सम्बन्धमा पार्टी पंक्तिले बेवास्ता गरेकाले आफू विधान महाधिवेशनमा सहभागी नहुने मनस्थितिमा पुगेको बताएका छन् । 

ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रूपमा लिइनुपर्ने र त्यही अनुसारको नीति लिइनुपर्ने साहको अडान रहेको छ । 

साहका अन्य मागमा पूर्व माओवादीलाई पार्टीमा उचित सम्मानका साथ समायोजन गरिनुपर्नेदेखि पूर्व माओवादीमाथि हुने भेदभाव हट्नुपर्ने रहेका छन् ।

त्यस्तै, जबजको ठाउँमा जनताको जनवादलाई राजनीतिक कार्यदिशा बनाइनुपर्ने अनि आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिइनुपर्ने पनि साहको माग छ ।

विधान अधिवेशनमा साहलाई सामेल गराउन एमाले वरिष्ठ नेताहरूले बिहीबार बिहानै एमाले अध्यक्ष ओली निवास बालकोट पुर्‍याएका थिए । छलफलका क्रममा केपी ओलीले यथाशीघ्र पार्टीको स्थायी कमिटी सदस्य बनाउने आश्वासन दिएका थिए । 

तर साहले व्यक्तिगत रूपमा नभएर पूर्व माओवादी समूहका सबैको समायोजन सम्मानजनक ढंगले हुनुपर्ने अडान लिएका थिए ।

बिहीबार बेलुकी महासचिव ईश्वर पोख्रेल लगायतका नेताले साहसँग थप छलफल गरेको थियो । साहले ओलीसँगको भेटकै कुरा ‘पूर्व माओवादी समूह’ लाई समूहगत रूपमा सम्बोधन गरिनुपर्ने माग तेर्स्याए । यसरी कुरा नमिलेपछि साह विधान महाधिवेशनको भेलामा सहभागी भएनन् ।

पार्टीको बैठकमा सुरु सुरुमा गए पनि उनले विना हस्ताक्षर बैठक छाडेर हिँड्ने गरेका थिए । अहिले भने एमालेमा पुरै असन्तुष्ट उनी पार्टीको बैठकमा समेत नगई आईटी आर्मीका नाममा खास गरी प्रदेश २ मा गतिविधि गर्दै आएका छन् ।

माओवादी पार्टी त्याग गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री हुन आएका प्रभु साहसँगै टोपबहादुर रायमाझी, मणि थापा पनि एमालेसँग असन्तुष्ट छन् ।

प्रचण्डसँग विद्रोह गरेका रामबहादुर थापा बादल र लेखराज भट्ट भने ओलीसँग कुममा कुम जोडिरहेका छन् । ओलीको सरकारमा मन्त्री हुन आएका अर्का नेता गौरीशंकर चौधरी भने हाल गुमनाम छन् । उनी आफ्नो गृह जिल्ला कैलालीको कार्यक्रममा पनि देखिँदैनन् ।

Logo